संकटा महिला लिगका लागि छनोट

संकटाले एन्फा वुमेन्स लिग छनोट २०८२ को समूह ‘बी’ को खेलमा नेपाल वेस्टलाई ६–१ ले पराजित गरेपछि यो ऐतिहासिक उपलब्धि चुमेको हो ।

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Selection for Sankata Women's League

What you should know

काठमाडौँ — संकटाले मंगलबार महिला लिगमा आफ्नो छनोट यात्रा निश्चित गरेको छ । उसले एन्फा वुमेन्स लिग छनोट २०८२ को समूह ‘बी’ को खेलमा नेपाल वेस्टलाई ६–१ ले पराजित गरेपछि यो ऐतिहासिक उपलब्धि चुमेको हो । संकटाको यो लगातार पाँचौं जित हो र उसको १५ अंक भएको छ । संकटा आफ्नो समूहको शीर्षमा छ र कम्तीमा दोस्रो स्थानमा रहने निश्चित भएको छ ।

कुल १४ टिमको सहभागिता रहेको छनोटमा तिनीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष स्थानमा रहने दुई टिम छनोट हुनेछन् । तेस्रो स्थानमा रहने दुई टिमबीच भने प्लेअफ खेल हुनेछ । यसपल्टको छनोटबाट महिला लिग खेल्ने निश्चित भएको संकटा पहिलो टिम हो 

च्यासल मैदानमा भएको खेलमा संकटाका लागि पूर्णिमा राईले ह्याट्रिक गरिन् । उनले ३१, ४२ र ५५ औं मिनेटमा गोल गरिन् । यस्तै सेनु परियारले ५ र ६० औं मिनेटमा दुई गोल गरिन् । रोशनी तामाङले ६७ औं मिनेटमा एक आत्मघाती गोल उपहार दिइन् । नेपाल बेस्टबाट सम्भव भएको गोल विपना गुरुङको नाममा रह्यो । यो १८ औं मिनेटमा सम्भव भएको थियो ।

नेपाल वेस्टको यो चौथो हार हो र टिम एक अंकमा रहेको छ । समूह ‘ए’ को मंगलबार नै भएको खेलमा छहारीले सिन्धुपाल्चोकलाई १–० ले हरायो र छनोटको नजिक पुग्यो । खेलको एक मात्र गोल सीमा रावलले १३ औं मिनेटमा गोल गरिन् । यो जितपछि छहारीको पाँच खेलबाट १० अंक भएको छ । सिन्धुपाल्चोक भने लगातार पाँचौं हारपछि शून्य अंकमा रह्यो । 

कान्तिपुर

Link copied successfully