नेपाली टोली सोमबार निर्णायक मानिएको पाँचौं तथा अन्तिम खेल ४४ रनले जितेपछि ट्वान्टी–२० मैत्रीपूर्ण क्रिकेट शृंखला हात पार्न सफल भयो ।
What you should know
काठमाडौँ — नेपाल ‘ए’ ले आसामविरुद्ध ५ खेलको ट्वान्टी–२० मैत्रीपूर्ण क्रिकेट शृंखला ३–२ ले जितेको छ । नेपाली टोली सोमबार निर्णायक मानिएको पाँचौं तथा अन्तिम खेल ४४ रनले जितेपछि शृंखला हात पार्न सफल भयो ।
सन्दीप जोराले ३९ बलमा ६४ रन बनाएपछि टस जितेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाई २ सय ८ रन बनायो । प्लेयर अफ द म्याच उनले २ चौका र ५ छक्का प्रहार गरे । ओपनर एवं कप्तान अनिल साह ११ बलमा १ चौकासहित १० रनमा आउट भए । अर्का ओपनर इशान पाण्डेले २० बल खेल्दै ४ चौका र २ छक्कामा ३२ रन बनाए ।
सन्दीप र शुभ कंसाकारले तेस्रो विकेटमा ८६ रनको साझेदारी गरे । शुभले २६ बलमा १ चौका र ४ छक्कासहित ४१ रन बनाए । बसिर अहमद १० रनमा रिटायर्ड आउट भए । आदिल आलम अन्सारी ३ छक्कासहित ११ बलमा २५ रन बनाएर अविजित रहे । विवेक यादव ७ रनमा रनआउट भए भने पवन सर्राफ २ बल खेल्दै ७ रनमा अविजित रहे । आसामका आयुशमान मालाकारले ४ ओभरमा ३४ र अभिनव चौधरीले ४ ओभरमा ४१ रन खर्चेर २–२ विकेट लिए ।
जवाफमा आसामले ९ विकेट गुमाई १ सय ६४ रनमात्र बनाउन सक्यो । १० औं नम्बरमा ब्याटिङ गरेका भार्गव प्रितम लहकार सर्वाधिक २९ रनमा अविजित रहे । उनले १७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । ओपनर सुमित घडिगाउनकर र साहिल जैनले समान २५ रन बनाए । नेपालबाट शेर मल्ल, आकाश चन्द र पवनले २–२ तथा बसिर र आदिलले १–१ विकेट लिए ।
वर्षाले प्रभावित पहिलो खेलमा डकवर्थ लुइस पद्धतिका आधारमा १५ रनले पराजित नेपालले दोस्रो खेल ९६ रनले जित्दै शृंखला बराबरीमा ल्यायो । नेपालले तेस्रो खेल ९ रनले जिते पनि आसाम चौथो खेलमा १८ रनले विजयी भए पनि शृंखला २–२ को बराबरीमा पुगेको थियो ।
