ओसीएका महानिर्देशकले प्रधानलाई लेखेको पत्रमा लोगो प्रयोग अवैधानिक भन्दै कानुनी कारबाहीको चेतावनी पनि दिइएको छ।
What you should know
काठमाडौँ — पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा गठित नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिको दाबी रहेको छ, उनीहरू नै एक मात्र आधिकारिक ओलम्पिक कमिटी हो र यसलाई अन्तर्राष्ट्रिय मान्यता हुनेछ । सबैलाई थाहा थियो, यस्तो हुने छैन ।
तदर्थ समिति गठन भएयता त्यसलाई नै पुष्टि गर्दै ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले पत्र लेख्दै आइतबार आफ्नो ‘लोगो’ दुरुपयोग नगर्न धम्कीपूर्ण चेतावनी दिएको छ ।
ओसीएका महानिर्देशक हुसेन अल मुसल्लाहले प्रधानलाई पत्र लेख्दै उनीहरूको लेटरहेडमा लोगो प्रयोग गर्नु अवैधानिक मात्र भनेको छैन, त्यसलाई तत्काल नरोके कानुनी कारबाहीको चेतावनी पनि दिएको छ । यो पत्र आईओसी र एनओसीलाई पनि बोधार्थ गरेको छ ।
पत्रमा भनिएको छ, ‘तपाईंले आफ्ना चिठीपत्रमा ओसीएको लोगो प्रयोग गर्नु अवैधानिक रहेको आधिकारिक रूपमा जानकारी गराउँछौं । यो आधिकारिक चेतावनी पनि हो । तपाईंले ओसीएको लोगो प्रयोग गर्न नछाडे ओसीएले आवश्यक कानुनी कारबाही गर्नेछ ।’
प्रधानको संयोजकत्वमा भदौ ४ मा एनओसीको तदर्थ कमिटी गठन गरिएको थियो र यसलाई सरकारी समर्थन पनि रहेको छ । यसले जीवनराम श्रेष्ठ अध्यक्षताको ओलम्पिक कमिटीले अवैधानिक भन्दै आएको छ । यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि जापानमा हुने अबको एसियाली खेलकुदमा नेपाललाई सहभागिता गराउन पत्राचार गरेको थियो । त्यसलाई एसियाली खेलकुद आयोजकले स्वीकार गरेको थिएन ।
यस्तै तदर्थ कमिटीले गठनयता आयोजित पहिलो पत्रकार सम्मेलनमा एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित गर्ने दाबी पनि गरेको थियो । तर एसियाली खेलकुद आयोजनाको मुख्य संस्था ओसीएले अहिले त्यही कमिटीलाई धम्कीपूर्ण चेतावनीसहितको पत्र लेखेपछि त्यसमा पनि अन्योल छाएको छ ।
