‘होल इन वान’ जित्नेलाई घोडा पुरस्कार
What you should know
पोखरा — विश्वकै सबैभन्दा अग्लो स्थानमा हुने गल्फ प्रतियोगिता ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’ को चौंथो संस्करण यस वर्ष भदौ २८ र २९ गते मुस्ताङको लोवथाङमा हुने भएको छ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा ४ हजार ७ सय मिटरको उचाइमा अवस्थित यो गल्फ कोर्समा यसपल्ट देश तथा विदेशका ६० जना गल्फरले सहभागिता जनाउने छन् ।
मुस्ताङ गल्फ कोर्सले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । संस्थाका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टका अनुसार विगतका प्रतियोगितामा ९ होलमा मात्रै खेलाइएकोमा यस वर्ष १८ होलमा प्रतिस्पर्धा हुनेछ । यसले खेललाई अझ चुनौतीपूर्ण र रोमाञ्चक बनाउने ठानिएको छ ।
प्रतियोगिताको मुख्य आकर्षणमध्ये ‘होल इन वान’ जित्ने खेलाडीलाई पुरस्कार स्वरूप घोडा प्रदान गरिने घोषणा गरिएको छ, जुन विश्वकै गल्फ इतिहासमा एउटा अनौठो र चाखलाग्दो पुरस्कार हुने विष्टले बताए । प्रतियोगिताको पहिलो संस्करणदेखि नै घोडा पुरस्कार राखिए पनि ‘होल इन वान’ जित्न भने कुनै गल्फरले सकेका छैनन् । यस वर्षको प्रतियोगितालाई ‘टी फर क्लाइमेट’ शीर्षक दिइएको छ । यसले जलवायु परिवर्तनको बढ्दो संकटबारे विश्वको ध्यानाकर्षण गराउने लक्ष्य राखेको छ । विष्टले मुस्ताङमा जलवायु संकटको चपेटाबारे विश्वलाई सन्देश दिन उच्च स्थानको गल्फ कोर्सबाट यो पहल गरिएको बताएका छन् ।
यसपल्ट नेपालका उत्कृष्ट चार व्यावसायिक गल्फर बीच छुट्टै प्रतिस्पर्धा गराइनेछ । विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । एम्योचरतर्फका विजेतालाई ट्रफी प्रदान गरिनेछ । विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टू द पिन, मस्ट बर्डिज र लंगेस्ट ड्राइभका लागि पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगिता सम्पन्न गर्न लोमन्थाङ गाउँपालिका र गण्डकी प्रदेश सरकारले सहयोग गरेका छन् ।
संस्थाले यो गल्फ कोर्सलाई विश्वकै उत्कृष्ट र सबैभन्दा अग्लो गल्फ कोर्सका रूपमा गिनीज बुक अफ वर्ल्ड रेकर्ड्स मा दर्ता गराउने प्रयास जारी राखेको छ । ‘यो अवधारणा खासगरी मुस्ताङ र नेपालकै पर्यटन विकासका लागि सुरु गरिएको हो,’ गण्डकी प्रदेशसभाका पूर्व सदस्य समेत रहेका विष्टले भने, ‘खेल पर्यटनको विकाससँगै खर्चिला पर्यटक भित्र्याउँन प्रतियोगिताले मद्दत गर्छ ।’
