ग्लोबल रिच फुटसल उपाधि सेन्ट जेभियर्सलाई

धुकु फुटसलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी शुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्‍यो । 

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Global Rich Futsal title to St. Xavier's

काठमाडौँ — सेन्ट जेभियर्स कलेजले ग्लोबल रिचको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर विद्यालय ए लेभल फुटसल प्रतियोगिता जितेको छ । धुकु फुटसलमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा सेन्ट जेभियर्सले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूललाई पेनाल्टी शुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्‍यो । 

निर्धारित ४० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । प्रतियोगितामा उपत्यकाका १६ कलेजको सहभागिता थियो । ग्लोबल रिचले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यो प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता सेन्ट जेभियर्सका आदित्य गैरे भए । सर्वाधिक गोलकर्ता प्रिमियमका श्यामिर श्रेष्ठ, उत्कृष्ट गोलरक्षक प्रिमियमकै रिलिश न्यौपाने र सर्वोत्कृष्ट प्रशिक्षक सेन्ट जेभियर्स्का वेदान्त सिंह ठकुरी भए । प्लेयर अफ द फाइनल सेन्ट जेभियर्सका सन्जोग राई भए । रातो बंगला स्कूलले फेयर प्ले अवार्ड जित्यो । 

प्रतियोगितालाई अष्ट्रेलियाका युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, बैंकक युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, म्याक्वेर युनिभर्सिटी र अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीले सहप्रयोजन गरेको थियो । विजेतालाई नेपाली राष्ट्रिय महिला टोलीकी फर्वाड रेखा पौडेलले पुरस्कार वितरण गरिन् । ग्लोबल रिचका प्रतिनिधिले विद्यार्थीहरुले देखाएको ऊर्जा र फुटसल प्रेमका कारण आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कान्तिपुर

Link copied successfully