नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज हुने

दोस्रो संस्करणको खेलमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिताअन्तर्गत सेभेन्स र फिफ्टिन्स दुई विधामा हुनेछ ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

International rugby series between Nepal and Bangladesh

काठमाडौँ — नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज हुने भएको छ । नेपाल रग्बी संघले सिरिज आयोजना गर्न लागेको हो । खेलहरु दशरथ रंगशालामा भदौ ३० र ३१ गते हुनेछ । सन् २०२२ मा यी दुई टोलीबीच ढाकामा पहिलो सिरिज भएको थियो । 

दोस्रो संस्करणको खेलमा अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिताअन्तर्गत सेभेन्स र फिफ्टिन्स दुई विधामा हुनेछ । प्रतियोगिताको पहिलो दिन रग्बी सेभेन्सअर्न्तगत २ खेल संचालन हुनेछ भने दोस्रो दिन फिफ्टिन्सअन्तर्गत एक खेल संचालन हुने रग्बी संघका कोषाध्यक्ष दिपक अधिकारीले बताए । 

नेपालबाट रग्बी प्रतियोगितामा २९ जना खेलाडीले सहभागिता जनाउने छन् । ‘बंगलादेशको रग्बी टोली शक्तिशाली भए पनि नेपालको टोली कमजोर भने छैन,’ नेपालका रग्बी प्रशिक्षक विनोद तामाङले भने, ‘नेपालले अन्य अन्तर्राष्ट्रिय खेलहरुमा राम्रो नतिजा ल्याएको छ ।’ बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि नेपालले पछिलो दुई महिनादेखि तयारी गरिरहेको प्रशिक्षक तामाङले जनाए । 

पहिलो संस्करणमा बंगलादेशले विजेता हासिल गरेको थियो । प्रतियोगितामा सहभागी जनाउन बंगलादेशको रग्बी टोली २९ गते नेपाल आउने छ । च्याम्पियन रग्बी टिमलाई ट्रफी, मेडल र प्रमाणपत्रका साथ पुरस्कृत गरिनेछ भने उत्कृष्ट एकजना खेलाडीलाई ट्रफी प्रदान गरी सम्मानित गरिन्छ । यस्तै संघले उपविजेता टिमलाई मेडलसहित प्रमाणपत्र प्रदान गर्नेछ । खेलका निम्ति अनुमानित बजेट ३५ लाख रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully