देवदहले आयोजक लिस्नु युवा क्लबलाई टाइब्रेकरमा ३-२ गोलले पराजित गरेको हो ।
तिलोत्तमा — रुपन्देहीमा जारी २३ औं लिस्नु कप नकआउट फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा देवदह ब्वाइज विजयी भएको छ ।
देवदहले आयोजक लिस्नु युवा क्लबलाई टाइब्रेकरमा ३-२ गोलले पराजित गरेको हो । योसँगै देवदह क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुवै टिमले २-२ गोलको बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । देवदहका लागि अरुन चौधरी र मिलन आलेले १-१ गोल गरे भने लिस्नुका लागि जय गुरुङ र बिन्दे एडाेराले १-१ गोल गरेका थिए । खेलमा देवदहका सुरज चौधरी 'म्यान अफ द म्याच' घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबारको खेल एवाईसी अञ्चलपुर र पाल्पा ११ बीच हुने खेल संयोजक सुदीन भण्डारीले जानकारी दिए ।
भदौ २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ। प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, स्याङ्जा, कपिलवस्तु र नवलपुरका गरी १२ टोली सहभागी छन् ।
