तिम्बुङ पोखरी ट्रेल रन भदौ २६ मा 

यस वर्ष तिम्बुङ पोखरी ट्रेल रनको खुलातर्फ प्रथमले ५०, द्वितीयले ३५ र तृतीयले २० हजार प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुनेले २५ हजार प्राप्त गर्ने छन् । स्थानीयका लागि छुट्टै पुरस्कार राखिएको छ ।

भाद्र १४, २०८२

आनन्द गौतम

Timbung Pokhari Trail Run on August 26

What you should know

ताप्लेजुङ — दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता यही भदौ २६ गते हुने भएको छ । सिदिङवा गाउँपालिकामा रहेको पोखरीको थप प्रचार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । गत वर्षको तुलनामा पुरस्कार र दौडने दूरी पनि बढाइएको छ ।  

तिम्बुङ पोखरी संरक्षण तथा संवर्द्धन समितिको आयोजनामा हुने प्रतियोगितामा देश विदेशका धावक सहभागी हुने आयोजकले बताएका छन् । कार्यक्रम संयोजक अमिर राईका अनुसार ३ हजार ८ सय मिटर उचाइको पाङदुवादेखि ४ हजार २ सय मिटरको ठूलो भन्ज्याङ हुँदै ४ हजार ३ सय ५० मिटर उचाईमा रहेको पोखरी क्षेत्रमा समापन हुनेछ । यसको दूरी १५ किलोमिटर रहेको छ । उच्च लेकाली क्षेत्र भएको र लेक लाग्ने भएकाले यो साहसिक प्रतियोगिता हो । 

गत वर्षको पहिलो प्रतियोगिता भदौ २६ मै भएको थियो । ७.८ किलोमिटर दूरीमा प्रतियोगिता गराइएको थियो । यस वर्ष खुलातर्फ प्रथमले ५०, द्वितीयले ३५ र तृतीयले २० हजार प्राप्त गर्नेछन् । 

महिलातर्फ प्रथम हुनेले २५ हजार प्राप्त गर्ने छन् । स्थानीयका लागि छुट्टै पुरस्कार राखिएको छ । यसमा सिदिङ्वा गाउँपालिकाका धावकले प्रतिस्पर्धा गर्न सक्नेछन् । महिला र स्थानीयतर्फ प्रथमलाई मात्रै पुरस्कार राखिएको संयोजक राईले जानकारी दिए । स्थानीयतर्फको पुरस्कार १५ हजार रहेको छ । 

प्रतियोगिताका लागि भदौ २२ गते कालिखोला, २३ गते नुनथला, २४ गते ठूलो भन्ज्याङ, २५ गते तिम्बुङ पोखरीदेखि नजिकै रहेको भारत सिक्किमको लक्ष्मी पोखरी पुगेर फर्कने तालिका छ । ट्रेल रनसँगै कार्यक्रम समापन हुनेछ । 

कार्यक्रम उद्घाटन र समापन ठूलो भन्ज्याङमा हुनेछ । ट्रेल रनका लागि १६ लाख १८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सिदिङ्वा गाउँपालिकाबाट ११ लाख, पर्यटन कार्यालय काँकडभिट्टावाट र सरोकारवाला निकायसँग माग गर्ने उल्लेख छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully