बूढानीलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीले हलको उद्घाटन गरे । करिब २ रोपनी क्षेत्रफल हातामा निर्मित हलका लागि २ करोड बजेट विनियोजन गरिएकामा १ करोड ४४ लाखमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
What you should know
काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका वडा–८ स्थित गोल्फुटारमा गोल्फुटार सेमी इन्डोर बास्केटबल हलको शनिबार उद्घाटन गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिका मेयर मीठाराम अधिकारीले हलको उद्घाटन गरे । करिब २ रोपनी क्षेत्रफल हातामा निर्मित हलका लागि २ करोड बजेट विनियोजन गरिएकामा १ करोड ४४ लाखमा निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
कोर्टमा सावर, बाथरुम, कमन रुम, चेन्जिङ रुम, शौचालय र करिब १ सय दर्शक क्षमताको प्यारापिट बनाइएको छ । हलसँगै रहेको खाली जमिनमा पनि फुटसल पूर्वाधारको निर्माण गरिँदै छ ।
मेयर अधिकारीले नगर गौरवको योजनाअन्तर्गत हल निर्माण गरिएको बताए । उनले यसबाट कुनै पनि समय प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सहज हुने अपेक्षा गरे ।
उपमेयर अनिता लामाले बूढानीलकण्ठ थुप्रै राष्ट्रिय खेलाडी भएको नगरपालिका भएको स्मरण गराउँदै खेलाडीले सुविधासम्पन्न पूर्वाधारमा प्रशिक्षण गर्न सकुन् भन्ने उद्देश्यले नगरपालिकाले खेलकुद गतिविधिसँगै पूर्वाधार निर्माणमा विशेष दिएको बताइन् ।
नगरवासी राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुशा मल्लले खेल पूर्वाधारले पनि बालबालिकालाई खेलप्रति आकर्षित गर्ने धारणा व्यक्त गर्दै आफूले सानैदेखि खेल्दै आएको आउटडोर कोर्टले हलको स्वरुप पाएकोमा खुसी व्यक्त गरिन् ।
बूढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङले बेलुकीको समयमा बालबालिकाका लागि १ महिनाको प्रशिक्षण सञ्चालन गर्ने बताए ।
उद्घाटनका अवसरमा राष्ट्रिय महिला बास्केटबल टोलीकी कप्तान अनुशा मल्लको नेतृत्वमा महिला टोली र भेट्रान पुरुष टोलीबीच मैत्रीपूर्ण बास्केटबल खेलाइएको थियो ।
नगरवासी पूर्वबास्केटबल खेलाडी सोहन थापा मगर, फुटबल खेलाडी सिद्धान्त खड्का र इन्डियन आइडलको शीर्ष १२ मा पुग्न सफल उज्ज्वल भट्टराईलाई सम्मान गरिएको थियो ।
