आयुश घलानको कप्तानीमा रहेको टोलीले सेप्टेम्बर ३ देखि ९ सम्म ताजकिस्तानमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ । समूह ‘के’ समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ ।
काठमाडौँ — एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजकिस्तान जाने नेपाली युवा फुटबल टोलीको शनिबार बिदाइ गरिएको छ ।
आयुश घलानको कप्तानीमा रहेको टोलीले सेप्टेम्बर ३ देखि ९ सम्म ताजकिस्तानमा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ । समूह ‘के’ समूहमा नेपालसँगै आयोजक ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेको छ ।
आइतबार बिहान त्यसतर्फ जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार बिदाइ गरेको हो । अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायतले बिदाइ गरे ।
बिदाइमा प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षणमा टोली रहेको छ । उनले प्रतिद्वन्द्वी टिम बलिया भए पनि आफ्नो लक्ष्य नेपाललाई एसिया कपमा छनोट गराउने रहेको बताए ।
नेपालले सेप्टेम्बर ३ मा पहिलो खेल ताजकिस्तानसँग खेल्नेछ । त्यसपछि सेप्टेम्बर ६ मा सिरिया र ९ मा फिलिपिन्सविरुद्ध खेल्नेछ ।
नेपाली टोलीका गोलकिपरमा कृशल मोक्तान, अमित टमाटा, विशाल केसी, रक्षकमा विवेक गुरुङ, विशाल नेपाली, लाहन सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु, सीमान्त थापा, मिडफिल्डरमा अभिषेक स्याङ्तान, आयुश घलान, आरोन थापा, निराज कार्की, दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सन्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित श्रेष्ठ तथा फरवार्डमा रोहन खड्गी, नीराजन धामी छन् ।
