प्रतियोगिताका विजेताले ३ लाख ५० हजार र उपविजेताले २ लाख नगद, ट्रफी, मेडल, प्रमाणपत्र पाउने
What you should know
पाल्पा — पाल्पाको रामपुरमा ‘रंगशाला’ निर्माण गर्ने महाअभियानसहित ‘तेस्रो ज्योतिपुञ्ज कप’ खुल्ला फुटबल प्रतियोगिताको तयारी गरिएको छ । रामपुर नगरपालिकास्थित ज्योति पुञ्ज युवा क्लबले खुल्ला फुटबल प्रतियोगिता गर्न लागेको हो ।
रामपुर नगरपालिका–७, किसानबारीस्थित क्लबले ‘तेस्रो ज्योतिपुञ्ज कप २०८२’ फुटबल प्रतियोगिता किसानबारी खेलमैदानमा यसवर्ष पनि आयोजना गर्न लागेको हो। पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको र यसपटकको तेस्रो संस्करणलाई सफलतामा पुर्याउने गरी काम भइरहेको क्लबका अध्यक्ष सुन्दर रानाले जानकारी दिए ।
प्रतियोगितामा बिजेताले ३ लाख ५० हजार र उपबिजेताले २ लाख नगद, ट्रफी, मेडल, प्रमाणपत्र पाउने अध्यक्ष रानाले बताए । प्रतियोगिता असोज ३ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पाल्पा, कास्की, स्याङ्जा, रुपन्देही, नवलपरासी, तनहुँ, चितवनलगायतका जिल्लाबाट उत्कृष्ट १० फुटबल क्लबले सहभागिता जनाउने आयोजकले जानकारी गराए। सेमिफाइनलमा पुग्ने तर फाइनलमा पुग्न नसक्ने टिमलाई २५/२५ हजार नगद प्रदान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट मूल्यवान खेलाडीले १७ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । अधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदाउँदो खेलाडी, उत्कृष्ट कोचलाई नगद ८ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका लागि रामपुर नगरपालिका संरक्षक रहेको छ ।
रामपुर उद्योग वाणिज्य संघ, नगर खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, प्रदेश खेलकुद विकास समितिलगायत देश तथा विदेशमा बस्ने सहयोगीले क्लबलाई सहयोग गरेको क्लबका पूर्वअध्यक्ष सुदीप गौतमले बताए । प्रतियोगिता सञ्चालनको तयारीका लागि स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, उद्योग वाणिज्य संघ, क्लबका सल्लाहकार लगायत सरोकारवालाहरूसँग सुझाव संकलन गरिएको छ ।
ज्योति पुञ्ज युवा क्लबको खेलमैदान किसानबारीमा सञ्चालन हुने प्रतियोगितामा ३० लाखभन्दा बढी खर्च हुने आयोजकले जनाए। क्लबले प्रहरी, नेपाली सेना, स्थानीय समूह, स्थानीय बासिन्दा, खेलाडी, नागरिकको सहभागितामा खेलमैदानको सरसफाइ, घाँस काट्ने लगायतका काममा सहयोग गरेको छ ।
रामपुर क्षेत्र तराई जस्तो फाँट/उपत्यका भएकाले यहाँ खेल मैदान प्रशस्त रहेको र आगामी दिनमा खेलकुदको ‘हब’ बनाउने योजनासहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गरिने खेल संयोजक अनिल शाही ठकुरीले बताए। 'खेलकुदको विकासका लागि रामपुर नगरपालिकाले ठूलो सहयोग गर्दै आएको छ,' उनले भने, 'जसले गर्दा हामीलाई थप हौसला मिलेको छ। देश तथा विदेशमा बस्नेहरूले पनि हामीलाई सहयोग गर्दै आएका छन्।'
रामपुर नगरपालिकाले नगर खेलकुद विकास समितिमार्फत ग्रासरुट फुटबल प्रशिक्षण राखेर १५ वर्षमुनिका ५ सय बढीलाई प्रशिक्षण दिएको छ। जसले गर्दा सानैदेखि फुटबल, भलिबललगायतका खेलकुदमा रुचि बढ्दै गएको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए ।
