१७ वर्षे लेग स्पिनर युवराज खत्रीको उत्कृष्ट प्रदर्शनले नेपाल ए ले आसामलाई ९६ रनले पराजित गर्यो।
What you should know
काठमाडौँ — नेपाल ‘ए’ ले शुक्रबार आसामविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा ९६ रनको जित हात पारेको छ । नेपाल अघिल्लो दिन वर्षाले प्रभावित पहिलो खेलमा डकवर्थ लुइस पद्धतिका आधारमा १५ रनले पराजित भएको थियो ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपाल ‘ए’ ले गुवाहटी स्थित एसीए सीए मैदान फुलुङमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७३ रन बनायो । कप्तान एवंम ओपनर अनिल साह १ तथा शुभ कंसकार ४ रनमै आउट भए पनि नेपाल ‘ए’ राम्रो स्कोर बनाउन सफल भएको थियो ।
देव खनाल र सन्दीप जोराले तेस्रो विकेटमा ४५ रनको साझेदारी गरे । ओपनर देवले ३५ बल खेली २ चौका र १ छक्कासहित ३१ तथा सन्दीपले २३ बल खेली १ चौका र ३ छक्का प्रहार गरि ३५ रन बनाए । पवन सर्राफले २३ बल खेली ३ छक्कासहित ३१, आदिल अलाम अन्सारीले ८ बल खेली २ छक्कासहित १४ रन बनाए ।
बसिर अहमदले २७ रन बनाए । सो क्रममा उनले १६ बल खेली १ चौका र २ छक्का प्रहार गरे । विवेक यादव ८ बलमा २६ रन बनाई अविजित रहे । उनले १९ औँ ओभरमा मृनमोय दत्तलाई लगातार बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । उनीसँगै कमलसिंह ऐरी १ रनमा अविजित रहे ।
१७ वर्षे लेग स्पिनर युवराज खत्रीले ४ विकेट लिएपछि जबाफमा आएको आसाम १५.२ ओभरमा ७७ रनमा अलआउट भयो । युवराजले ३.२ ओभरमा १५ रन खर्चेका थिए । बसिर अहिमदले ३ विकेट लिए । बसिरले ४ ओभरमा २६ रन खर्चे । कमलसिंह ऐरी, आकाश चन्द र विवेकले १–१ विकेट लिए ।
आसामबाट रुहिनन्दन पेगुले १७, शिवशंकर रोयले १६ र आकाश सेनगुप्ताले १० रन बनाए । ११ औँ नम्बरमा ब्याटिङ गरेका मृनमोयले ८ बलमा १५ रन बनाए । उनले बसिरलाई लगातार २ छक्का प्रहार गरेका थिए ।
