टिममा खो खो तथा युवामा अर्पिल र पूजा उत्कृष्ट

सिनियरतर्फ खो खो टिम पुरस्कृत भएको हो । पुरुष/महिला टोलीलाई १–१ लाख रुपैयाँसहित ट्रफी प्रदान गरियो । दुवै टिमले भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा रजत पदक जितेको थियो ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Kho Kho in Team and Arpil and Pooja in Youth

What you should know

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा राष्ट्रिय पुरुष/महिला खो खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ ।

सिनियरतर्फ खो खो टिम पुरस्कृत भएको हो । पुरुष/महिला टोलीलाई १–१ लाख रुपैयाँसहित ट्रफी प्रदान गरियो । दुवै टिमले भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा रजत पदक जितेको थियो । भारतले स्वर्ण जितेको थियो ।

खो खो टिमसँगै जुनियरमा २ र पारामा १ खेलाडी, १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र एक स्थानीयलाई सम्मान गरिएको थियो ।

जुनियर पुरुषमा बक्सिङका अर्पिल राना र महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित पुरस्कृत भए । अर्पिलले थाइल्यान्डमा भएको एसियाली यू–२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यू–१९ मा कांस्य जितेका थिए ।

पूजाले आईसीसी यू–१९ विश्वकप एसियाली छनोटमा २ सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् । उनी सोही छनोटमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् । पूजा नेपाल र मलेसियाबीचको यु–१९ टी–२० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन् ।

पारातर्फ तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजारसहित सम्मानित भइन् । पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक जितेकी थिइन् ।

उत्कृष्ट राष्ट्रिय खेल संघमा नेपाल क्रिकेट संघ (क्यान) १ लाखसहित पुरस्कृत भयो । उत्कृष्ट प्रायोजकमा नेपालय इन्टरनेसनल र उत्कृष्ट स्थानीय तहमा बागमती गाउँपालिका, मकवानपुरलाई पुरस्कृत गरियो ।

पत्रकारमा अञ्जन र लक्ष्मी सम्मानित

उत्कृष्ट खेलकुद पत्रकारमा खेलाडी डटकमका समाचार संयोजक अञ्जन खड्का र मेरोखेल डटकमकी लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मानित भए । खड्का नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव र शाक्य मञ्चकी सदस्य हुन् ।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट परिषद्को सचिवालयका फणिन्द्रप्रसाद पौडेल (प्रशासन) र दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए । दुवैले जनही २५ हजार पाए ।

Kho Kho in Team and Arpil and Pooja in Youth

उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघसंस्था समन्वय शाखाकी प्रभा कर्माचार्य र प्रशिक्षणतर्फ ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजारसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका बाबुकाजी श्रेष्ठ र प्रशिक्षणतर्फ तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए ।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी दीपिका केसी र प्रशासन विभागमा दुर्गा थापा पुरस्कृत भए । उनीहरूले जनही १० हजार प्राप्त गरे ।

राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरेका थिए ।

कान्तिपुर

Link copied successfully