थापाको उजुरीमा सोमबार अदालतले एन्फाको रोक लगाउने निर्णय न्यायको सिद्धान्तविपरीत भएको भनेको छ ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिमा रोक लगाउने निर्णय पाटन उच्च अदालतले खारेज गरिदिएको छ । थापाको उजुरीमा सोमबार अदालतले एन्फाको रोक लगाउने निर्णय न्यायको सिद्धान्तविपरीत भएको भनेको छ ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको १० वर्षको प्रतिबन्ध अवधि भुक्तान गरिसकेका थापालाई एन्फा अनुशासन र सदाचार समितिले फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरेर कारबाही गरेको थियो ।
अनुशासन समितिले वैशाख ४ मा र सदाचार समितिले वैशाख १६ मा एन्फाको विधानको धारा २४(३) ङ अनुसार थापालाई कुनै पनि फुटबलका गतिविधिमा भाग लिन नपाउने निर्णय गरेको थियो ।
अदालतले भने फिफाको कारबाही भोगिसकेको हुँदा थापामाथि त्यसै विषयमा फेरि कारबाही आवश्यक नभएको निर्णय सुनाएको छ । थापालाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारबाही नगर्नू र नगराउन पनि अदालतले एन्फाको नाममा आदेश जारी गरेको छ ।
अदालतले दिएको अन्तरिम आदेशविपरीत वैशाख २६ गते एन्फा साधारणसभामा आफूलाई प्रवेश गर्न नदिइएकोमा थापाले अवहेलनासम्बन्धी रिट हालेका थिए । उक्त रिट भने उच्च अदालतले दाबी नपुगेको भन्दै खारेज गरेको थियो । अब त्यस निर्णयविरुद्ध थापा सर्वोच्च जाने भएका छन् ।
