चर्च ब्वाइज बलियो

झापाले च्यासल मैदानमा एनआरटीलाई २–१ ले हराएको हो । एनआरटीको तेस्रो खेलमा यो पहिलो हार हो । 

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Church Boys Strong

What you should know

काठमाडौँ — झापा एफसीले एन्फा महिला फुटबल लिग छनोटमा बुधबार त्यस्तो जित निकालेको छ, जसले समूह ‘बी’ को समीकरण रोमाञ्चक बनेको छ । झापाले च्यासल मैदानमा एनआरटीलाई २–१ ले हराएको हो । एनआरटीको तेस्रो खेलमा यो पहिलो हार हो । 

यससँगै एनआरटी ६ अंकमै सीमित रह्यो । यसको ठीक विपरीत झापाले चौथो खेल खेल्दै ६ अंक बटुलेको छ । झापाले लगातार २ खेलको हार क्रममा पनि पूर्णविराम लगाएको छ ।

यो नतिजापछि संकटा समूहमा ९ अंकसहित शीर्षस्थानमा रह्यो । टोलीको छनोट सम्भावना बलियो भएको छ । संकटा समूह ‘बी’ मा शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिम बनेको हो । एनआरटीविरुद्ध झापाले ३२ औं मिनेटमा अग्रता लिएको थियो । गोल गर्ने खेलाडी रहिन्, सुनकला राई । त्यसपछि इमा राईले ७४ औं मिनेटमा दोस्रो गोल थपिन् । 

दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा संगीताकुमारी मल्लले एनारटीका लागि एक गोल फर्काइन् । तर यो सान्त्वना गोलभन्दा केही रहेन । एनआरटी अझै पनि समूहको दोस्रो स्थानमा छ । झापा तेस्रो स्थानमा छ । बुटवल लुम्बिनी ६ अंकमै चौथो स्थानमा छ । 

समूह ‘ए’ मा भने चर्च ब्वाइज शतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित शीर्षमा छ । टोलीले दिनको पहिलो खेलमा स्टुडेन्ट्स एफसीलाई सजिलै ४–० ले हरायो । त्यसमा वर्षा मगरले पेनाल्टीबाट गोलको खाता खोलिन् । त्यसपछि सरिताकुमारी नाथले ६५, वर्षा ओलीले ७२ र आरती भुजेलले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा गोल गरे । 

यस नतिजाले चर्च ब्वाइजको पनि छनोट सम्भावना बलियो भएको छ । यस समूहमा छहारी पनि अपराजित छ । टोलीको ३ खेलबाट ७ अंक छ । आरएस रिसोर्ट एफसी तीनै खेल खेलेर ६ अंकमा छ । स्टुडेन्ट्स ४ खेलपछि ६ अंकमै सीमित रहँदै चौथो स्थानमा रह्यो ।  

कान्तिपुर

Link copied successfully