प्रिमियर लिगमा एन्गुमोहामाथि नजर

इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडविरुद्ध गोल गरेपछि उनी लिभरपुलका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भए । 

भाद्र ११, २०८२

एपी

An eye on Ngumoha in the Premier League

What you should know

लन्डन — इंग्लिस फुटबलले सम्भवतः आधिकारिक रूपमा एक अद्भूत खेलाडी पाएको छ । उनको नाम हो, रियो एन्गुमोहा । इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडविरुद्ध गोल गरेपछि उनी लिभरपुलका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भए । 

सोमबार राति सेन्ट जेम्स पार्कमा भएको खेलमा निर्णायक गोल गर्दा उनको उमेर १६ वर्ष, ३ सय ६१ दिन थियो । त्यस गोलका क्रममा उनी आफ्नो उमेरभन्दा बढी परिपक्व देखिए । उनको प्रहारमा न्युकासलका गोलरक्षक निक पोपसँग बचाउको कुनै उपाय थिएन र डिफेन्डिङ च्याम्पियन सनसनीपूर्ण रूपमा विजेता रह्यो ।

एन्गुमोहा ९० औं मिनेटमा कोडी गाक्पोको स्थान लिन ९० औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । अतिरिक्त समय ११ मिनेट थपिएको खेलमा उनले १० औं मिनेटमा विजय गोल गरेका थिए । प्रशिक्षक आर्ने स्लटले उनलाई यही खेलबाट प्रिमियर लिगमा ‘डेब्यु’ अवसर दिएका थिए ।

एन्गुमोहा एकै गोलका कारण अहिले सबैको नजरमा परेका छन् । इंग्लिस फुटबल पण्डितहरू के मान्न थालेका छन् भने लिभरपुलले आफूले जितेको उपाधि रक्षा गर्ने हो भने यी किशोर खेलाडी निर्णायक हुन सक्छन् । लिभरपुलका लागि यो उनको तेस्रो गोल हो । यसअघि उनले गत महिना मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए भने दुई ‘एसिस्ट’ पनि । 

खासमा उनी चर्चामा आउन थालेको भर्खर जसो हो, तर जसलाई इंग्लिस फुटबलको भित्री कुरा थाहा छ, तिनका लागि उनी सुरुदेखि नै आशाको केन्द्र थिए । सन् २०१६ मा उनी ८ वर्षको उमेरमा चेल्सीसँग जोडिँदा नै भनिएको थियो, यी खेलाडीको प्रतिभा उच्च छ, उनको सम्भावना धेरै छ । चेल्सीमा ८ वर्ष बिताइसकेपछि उनी लिभरपुलसँग आबद्ध भएका हुन् । 

चेल्सीसँग एन्गुमोहाको कुरा मिलेको थिएन । सन् २०२३ को अक्टोबरमा चेल्सी यू–१६ को इंग्लिस च्याम्पियन हुँदा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । निश्चित छ, आफ्नो एकेडेमीमा त्यति लामो समय बिताएर लिभरपुल लागेकामा चेल्सी खुसी भने छैन । अझ एन्गुमोहाको लिभरपुल जाने एक निर्णयले चेल्सी र लिभरपुल एकेडेमीबीच तनावकै स्थिति समेत बनेको थियो । 

स्थिति कतिसम्म भने ‘स्काउट’ को परिचय भएकालाई केही समय उमेर समूहको फुटबलमा समेत प्रवेश गर्न दिइएको थिएन । द एथलेटिकमा जनाएअनुसार चेल्सीले सबैभन्दा पहिले ‘स्काउट’ प्रवेश निषेधको निर्णय गरेको थियो । पछि लिभरपुल मात्र होइन, म्यानचेस्टर युनाइटेडले पनि उनीसँग अनुबन्ध गर्ने प्रयास गरेको थियो । अन्ततः उनी लिभरपुल नै गए र त्यही बेला चेल्सीका पूर्वकप्तान जोन टोरीले उनको प्रशंसा गरेका थिए । 

टेरीले भनेका थिए, ‘यी खेलाडी अहिले पनि राम्रो छ, पछि पनि राम्रो रहनेछ ।’ खासमा चेल्सी एकेडेमीमा हुर्केर अन्ततः यही क्लब छाड्नेमा अर्को ठूलो नाम जमाल मुसियला पनि रहेका छन् । चेल्सीले उनलाई बायर्न म्युनिखतर्फ दुई लाख युरोमा बेचेको थियो । त्यसयता उनी बायर्नका लागि मात्र होइन, जर्मनीमै उत्कृष्ट खेलाडी भएका छन् । बायर्नबाट उनले १ सय ३८ खेलमा ४५ गोल गरिसकेका छन् । 

न्युकासलविरुद्धको खेलपछि एन्गुमोहा स्वाभाविक रूपमा मिडियाबाट घेरिएका छन् । उनको सुरुआती प्रतिक्रिया छ, ‘म त असाध्यै खुसी छु । मैले जुन निर्णायक गोल गरें, त्यो क्षण अविस्मरणीय रहनेछ ।’ खासमा प्रशिक्षक स्लटले उनलाई मैदानमा प्रवेशका लागि तयार हुन र खेलमा निर्णायक प्रभाव छाड्न भनेका रहेछन् ।

‘भाग्यले मैले त्यस्तै काम गरें,’ एन्गुमोहाले पछि सुनाए । ‘मेरो जति पनि सहकर्मी छन्, सबैले मलाई राम्रो खेल्न प्रेरित गरिरहेकै हुन्छन्,’ उनले थपे । लिभरपुलको जितपछि उनको प्रशंसा गर्नेमा आर्सनलका लिजेन्ड खेलाडी थिएरी हेनरी पनि छन् । उनले भनेका छन्, ‘ एन्गुमोहाले आफू केन्द्रमा आएको घोषणा गरेका छन् ।’ स्लट स्वयंले पनि यी खेलाडी आफ्नो उमेरभन्दा पनि बढी राम्रो प्रदर्शन गर्न सक्षम रहेको बताउँछन् । 

न्युकासलविरुद्ध नै उनको यो आधिकारिक डेब्यु भने होइन । उनले यसअघि एफए कपमा एक्रिङ्टन स्टानलीविरुद्ध खेलेका थिए । त्यसै क्रममा उनी लिभरपुलका लागि एफए कप खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए १६ वर्ष र १ सय ३५ दिनमा । उनी क्लबका लागि सुरुदेखि खेल्न पाउने सबैभन्दा कान्छा खेलाडी बने । तर, उनी प्रिमियर लिग इतिहासमै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भने होइनन् ।

यसको श्रेय एभरटनका जेम्स भनलाई जान्छ । उनले सन् २००५ मा १६ वर्ष २ सय ७० दिनमा अर्को मर्सिसाइड क्लबका लागि गोल गरेका थिए । उनको यो प्रदर्शनबाट खुसी हुनेमा लिभरपुलमात्र रहने छैन, खासमा पूरा इंग्लिस फुटबल नै प्रसन्न रहनेछ । इंग्लिस फुटबललाई पछिल्लो समय के लागेको छ भने राष्ट्रिय टिमका लागि एकपछि अर्को प्रतिशाली खेलाडी अगाडि आइरहेका छन् र त्यसमा एन्गुमोहा सबैभन्दा अगाडि छन् ।

एपी

Link copied successfully