भारतको गुवाहाटीमा अगस्ट २८, २९, ३०, ३१ र सेप्टेम्बर १ गरी नेपाल ‘ए’ ले आसाम क्रिकेट संघविरुद्ध ५ खेल खेल्नेछ ।
काठमाडौँ — नेपाल ‘ए’ ले आसामविरुद्ध खेलिने ५ मध्ये तीन ट्वान्टी–२० क्रिकेट खेल फ्लडलाइटमा खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार जनाएअनुसार भारतको गुवाहाटीमा अगस्ट २८, २९, ३०, ३१ र सेप्टेम्बर १ गरी नेपाल ‘ए’ ले आसाम क्रिकेट संघविरुद्ध ५ खेल खेल्नेछ ।
पहिलो दुई खेल एसीए सीए मैदान फुलुङमा हुनेछ । यी दुई खेल बिहान ११ बजे सुरु हुनेछ । त्यसपछिका तीन खेल गुवाहाटीस्थित एसीए रंगशालामा हुनेछ । यी तीन खेल साँझ ५ बजे सुरु हुनेछ र फ्लडलाइटमा खेलाइने छ । इन्डियन प्रिमियर लिगको सन् २०२० को संस्करणमा गुवाहाटीलाई राजस्थान रोयल्सले दोस्रो घरेलु मैदानको रूपमा प्रयोग गर्दै दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सविरुद्ध यो मैदानमा खेलेको थियो ।
बर्सापारा क्रिकेट रंगशालाको नामले चिनिएको गुवाहाटीको यस मैदानमा सन् २०२३ को जनवरीमा पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको थियो, जहाँ भारतीय स्टार विराट कोहलीले आफ्नो ४५ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका थिए । सेप्टेम्बर–अक्टोबरमा भारतमा हुने महिला विश्वकपका चार खेल यस मैदानमा हुनेछ ।
अनिल साहको कप्तानीमा शनिबार नेपाल ‘ए’ टोली घोषणा भइसकेको छ । टोलीका खेलाडीमा अर्जुन घर्ती, तृतराज दास, शुभ कंसाकार, इशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक यादव, पवन सर्राफ, बसिर अहमद, आकाश चन्द, कमलसिंह ऐरी, आदिल अलाम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल छन् ।
