साम्भवीले छात्रातर्फ १–० गोलले र छात्रतर्फ ७–२ गोलले हराएर दोहोरो उपाधि जितेको हो ।
काठमाडौँ — साम्भवी स्कुलले प्रथम वडास्तरीय अन्तर विद्यालय फुटसल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । सोमबार प्रतियोगिताको फाइनलमा छात्रा र छात्रतर्फको उपाधि साम्भवी स्कुलले शिक्षान्तर स्कुललाई हराएर जितेको हो । साम्भवीले छात्रातर्फ १–० गोलले र छात्रतर्फ ७–२ गोलले हराएर दोहोरो उपाधि जितेको हो ।
राष्ट्रिय युवा संघको काठमाडौं महानगरपालिका–९ वडा कमिटीले विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको थियो ।
विजेताले १०, उपविजेताले ५ र तेस्रो हुने टिमले ३ हजार रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडीमा साम्भवीकी रेखा थापा र विकास मुखियाले पुरस्कृत भए । विजेता खेलाडीलाई काठमाडौं महानगरका वडाध्यक्ष रामजी भण्डारीलगायतले पुरस्कार वितरण गरे । उनले विद्यालय स्तरमा प्रतियोगिता आयोजना गर्दा बालबालिकालाई खेलकुदमा भविष्य बनाउन प्रेरणा प्रदान गर्ने बताए ।
आगामी वर्षमा थप खेल समावेश गर्दै प्रतियोगितालाई निरन्तरता दिने राष्ट्रिय युवा संघ काठमाडौं वडा नम्बर ९ का सचिव विशाल राजभण्डारीले बताए । दुईदिने प्रतियोगितामा १२ विद्यालयको सहभागिता थियो ।
