बंगलादेशसँग हारेपछि नेपालको स्थिति कमजोर

डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालको यो तीन खेलमा दोस्रो हार हो ।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

After losing to Bangladesh, Nepal's position is weak

What you should know

काठमाडौँ — उमेर समूहको महिला फुटबलमा नेपालको एउटा अर्को कमजोर प्रदर्शन आइतबार रह्यो । नेपाल यू–१७ वुमेन्स साफ च्याम्पियनसिपमा बंगलादेशसँग ३–० ले पराजित भएको हो । भुटानको थिम्पुमा बेहोरेको यो हारले नेपालको स्थिति कमजोर बनेको छ ।

डबल राउन्ड रोबिनका आधारमा भइरहेको प्रतियोगितामा नेपालको यो तीन खेलमा दोस्रो हार हो । यसले नेपालको उपाधि सम्भावना लगभग समाप्त भएको छ । पहिलो खेलमा भारतसँग ७–० ले पराजित नेपालले त्यसपछि मुस्किलले भुटानमाथि विजय हात पार्न सकेको थियो ।

थुनुए मार्माले ४१ औं मिनेटमा बंगलादेशका लागि पहिलो गोल गरिन् । त्यसपछि सौरभी प्रीतिले ४४ औं मिनेटमा दोस्रो गोल थपिन् । ममानी चक्काले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल गरिन् । नेपालले पनि पूरा खेल अवधिमा केही राम्रो अवसर सिर्जना गरे पनि ती कुनै पनि निर्णायक सावित हुन सकेनन् । यो हारले नेपाल तीन खेलबाट तीन अंकमै सीमित रह्यो । 

बंगलादेशले भने तीन खेलमा दोस्रो जितसँगै ६ अंक बटुलेको छ । भारत तीनै खेल जित्दै ९ अंकमा शीर्ष स्थानमा छ र उपाधिका लागि बलियो प्रत्याशी बनेको छ । भारतले आइतबारको पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो । भुटान शून्य अंकमा सहभागी चार टिममध्ये सबैभन्दा पुछारमा छ । आयोजक भुटानको पनि उपाधि सम्भावना समाप्त भइसकेको छ । डबल राउन्ड रोबिनका आधारमा लिग चरणका खेल टुंगिएपछि शीर्ष स्थानमा रहने टिम नै च्याम्पियन हुनेछ । अब बुधबार हुने खेलमा नेपाल बंगलादेशकै सामना गर्नेछ । अर्को खेलमा भारत र भुटान भिड्ने छन् । 

कान्तिपुर

Link copied successfully