नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनील अमात्यले जनाए ।
What you should know
काठमाडौँ — राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यू–१४ टी–२० ब्वाइज ओपन क्रिकेट प्रतियोगिता हुने भएको छ । भदौ २४ देखि असोज ८ सम्म प्रतियोगिता गर्न लागेको राइजिङ स्टार क्रिकेट एकेडेमी एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार जनाएको छ ।
नेपालमा युवा क्रिकेट प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको राइजिङ स्टार एकेडेमीका अध्यक्ष सुनील अमात्यले जनाए । नेपालमा यो उमेर समूहमा यस्तोखाले प्रतियोगिता विरलै हुने गरेको पनि दाबी गरे । उमेर समूहका खेलाडीले नै नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने हुनाले यू–१४ क्रिकेट आयोजना गरेको उनले बताए ।
समूह चरण तथा सेमिफाइनल खेल सिफल ग्राउन्ड गौशालामा हुने आयोजकले जनाएको छ । फाइनल खेल मूलपानीमा हुने आयोजकले बताएको छ । कुल १७ टिमले लिग र नकआउट चरणमा प्रतिस्पर्धा गर्ने प्रतियोगितामा क्रिकेट एक्सलेन्स सेन्टरबाट ५, ग्रेट हिमालय क्रिकेट एकेडेमीबाट ४, ओएसिस क्रिकेट एकेडेमीबाट २, काठमाडौं क्रिकेट एकेडेमी, किङ्स क्रिकेट एकेडेमी, काभ्रे क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, अल्पाइन एकेडेमी र आयोजक राइजिङ स्टार क्रिकेट एकेडेमीबाट १ टिम सहभागी छन् ।
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिने र शीर्ष स्थानमा रहने दुई वटा टोली क्वार्टरफाइनल पुग्नेछन् । विजेताले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागततर्फ प्लेयर अफ द सिरिज, बेस्ट ब्याटर, बेस्ट बलर र बेस्ट फिल्डरलाई पनि पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकसमेत रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीले यस्ता किसिमको प्रतियोगिताहरू नियमित आयोजना हुनुपर्नेमा जोड दिए । प्रतियोगिताको प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले ग्रासरुट क्रिकेट र युवा क्रिकेटको विकासमा यस्तो प्रतियोगिता महत्त्वपूर्ण रहने जनाए ।
