गुन्नी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै होटल बेन्जुले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कारसहित पहिलो उपाधि हात पारेको हो ।
पर्वत — कुश्मामा भएको ‘पर्वत जेसिज–२०२५’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि होटल बेन्जुले हात पारेको छ । बिहीबारदेखि कुश्मा नगरपालिका–५ बडगाउँ चौरमा भएको फाइनल खेल आइतबार सम्पन्न भएको हो ।
फाइनलमा गुन्नी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै होटल बेन्जुले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कारसहित पहिलो उपाधि हात पारेको हो । उपविजेता बनेको गुन्नी फुटबल क्लबले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा २२ फुटबल समूहको सहभागिता रहेको थियो । विजेता समूहलाई फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले पुरस्कार हस्तान्तरण गरेका थिए । खेलकुदले समग्र पर्वतको पहिचानमा महत्त्वपूर्ण टेवा पुर्याउनमा सहयोग गरेको नगर प्रमुख तिवारीले बताए ।
खेलमैदान साँघुरो भएकाले सेभेन ए साइड फुटबल प्रतियोगिता राख्न बाध्य भएको पर्वत जेसिजका अध्यक्ष अच्युत पौडेलले बताए । ‘११ जना खेलाडी सहितको बिग म्याच राख्ने चाहना हो,’ उनले भने, ‘यस प्रतियोगिताले सरोकारवालालाई कुश्मामा गतिलो खेलमैदानको आवश्यकता महसुस भएको छ । आसा गरौँ पूरा हुनेछ ।’
कुश्मामा रहेको बडगाउँचौरमा सशस्त्र प्रहरी बसेपछि खेलमैदानको अभाव हुँदै आएको छ । तत्कालीन विद्रोही नेकपा माओवादी र राज्यबिचको युद्ध उत्कर्षमा रहेकै समय २०५८ मा सशस्त्र प्रहरीले खेलमैदान आफ्नो बनाएको थियो । अहिले सशस्त्र प्रहरी बल नेपाल नं. २५ गण हेडक्वार्टर चण्डिकाको कार्यालय छ ।
