बड गाउँ चौर कसरी पुग्यो सशस्त्रको हातमा ?

सार्वजनिक खेलमैदान रहेको चौर सशस्त्र प्रहरीको नियन्त्रणमा गएपछि जिल्लाको खेलकुद विकासमा अवरोध

वैशाख २२, २०८२

सुमनजंग थापा

How did Bad village square get into the hands of armed forces?

पर्वत — कुश्माको बड गाउँ चौर सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको २५ वर्ष पुग्न लाग्यो। सशस्त्र द्वन्द्व उत्कर्षमा रहेका बेला २०५८ मा यहाँ सशस्त्र प्रहरीको अस्थायी ब्यारेक खडा भयो। सशस्त्र बसेकै दिनदेखि खेलाडीका लागि आफ्नै खेलमैदान निषेधित बन्यो।

 हेर्दाहेर्दै बड गाउँ चौरमा प्रहरीको परेड सुरु भयो । अहिले त्यहाँ सशस्त्र प्रहरीको २५ नम्बर गण हेडक्वाटर चण्डिकाको कार्यालय छ। खेलाडीहरू सशस्त्रले खेलमैदान छाड्ने आसमा बसेको वर्षौँ बितिसकेको छ।

गतिलो खेलमैदान अभावमा नयाँ पुस्ताका खेलाडीको प्रतिभालाई पहिचान र अघि बढाउन मुस्किल भएको खेलकुदका संलग्नहरूको गुनासो छ। बड गाउँचौरको ८४ रोपनी १४ आना जग्गामध्ये सशस्त्रको नाममा ७८ रोपनी ७ आना २ दाम जग्गा रहेको देखिन्छ।

मालपोत कार्यालय पर्वतको तथ्याङ्कअनुसार २०५८ मङ्सिर २७ गते सार्वजनिक खेलमैदान र जिल्ला खेलकुद विकास समितिको कित्तामा रहेको जग्गा खारेज गरी सशस्त्रको नाममा कायम हुन आएको छ। सशस्त्रले आफ्नो कित्ताबाहेकको सार्वजनिक जग्गा समेत हड्पेर तारबारभित्र आफ्ना गतिविधि अघि बढाउँदै आएको छ।

२०५८ मै मन्त्रिपरिषद् बैठकले बडगाउँचौरलाई सशस्त्रको नाममा उपलब्ध गराउने निर्णय भएको जिल्ला खेलकुद विकास समिति पर्वतका पूर्व अध्यक्ष शिव पौडेलले सुनाए। त्यो समय सशस्त्रलाई बड गाउँचौर सुम्पिन नहुनेमा खेल प्रेमीको आवाज बढ्दै थियो । यहीँ देखेरै सरकारले गरेको उक्त निर्णयलाई कार्यान्वयन गर्न जिल्लामा सहमति खोजिएको थियो ।

‘जिल्ला प्रशासन, जिल्ला विकास समिति, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बसेर खेलकुद विकास समितिलाई नजिकै रहेको जग्गा र रकम उपलब्ध गराउने सहमति थियो,’ जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष पौडेलले भने, ‘२०६८ देखि ७१ को अध्यक्ष हुँ । म आएपछि मात्र सशस्त्रले खेलकुदलाई उपलब्ध गराउने भनेको २५ लाख रुपैयाँ ल्याएँ । त्यसपछि हामीलाई दिइएको २४ रोपनी जग्गामा जर्बजस्ती डोजर चलाएर सम्याउने काम गरेँ।’

जग्गा खेलकुद विकास समितिले उपयोग गर्दै आएको भए पनि लालपुर्जा नाममा छैन । बडगाउँचौर सशस्त्रलाई जिम्मा लगाउन कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशी सक्रिय रहेको आरोप लाग्ने गर्छ । तर उनी चहीँ ठाडै अस्वीकार गर्छन्। बरु सरकारले बडगाउँचौर सशस्त्रलाई दिने निर्णयपछि सशस्त्रका तत्कालीन आइजीपी कृष्ण मोहन श्रेष्ठलाई भेटेर खेलकुद समितिलाई जग्गाको क्षतिपूर्ति दिलाउन आफूले पहल गरेको उनको दाबी छ ।

‘माओवादीले सदरमुकाम आजै हान्छ, भोलि नै हान्छ भन्ने त्राहीमामको अवस्था थियो । सबैले सुरक्षित भइन्छ भनेर सशस्त्र राखेको हो । अहिले एक अर्कालाई दोषारोपणको आवश्यक छैन’, उनले भने, ‘सरकारले जग्गा दिने निर्णय गरेपछि मैले रोक्न सक्ने कुरा रहेन । जिल्लाका सबै राजनैतिक दलका प्रतिनिधि बसेर सशस्त्रलाई बडगाउँचौरमा राख्ने सहमति गरेको हो।’

कराते प्रशिक्षक राम श्रेष्ठले खेलकुदमा पर्वत २० वर्ष पछाडि परेको बताए । ‘देशमा युद्ध हुँदा समेत नरोकिएका खेल गतिविधि सशस्त्र बडगाउँचौरमा बसेपछि खेल र खेलाडीको चिलबिल भयो’, उनले भने, ‘मैले पनि बडगाउँचौरमै कराते सिकेको हुँ, त्यो बेला बेग्लै जोस हुन्थ्यो । राष्ट्रको लागि खेल्नु पर्छ भन्ने हुटहुटी थियो । अहिले खेलाडीमा उत्साह र चासो पनि देखिँदैन।’

२०५४ तिर बडगाउँचौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्णपदक जितेका ४७ वर्षे खेलाडी नरेश श्रेष्ठ भन्छन्, ‘अन्य जिल्लामा पुग्दा पनि पर्वतका खेलाडीको सम्मान थियो तर खेलमैदानकै अभावमा नयाँ पुस्ता आउनै सकेनन्।’

मापदण्ड अनुरूपको खेलमैदान अभावमा अखिल नेपाल फुटबल संघ (एन्फा) बाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको पूर्व फुटबल खेलाडी राजन गुरुङ बताउँछन् । ‘म्याग्दी, बागलुङ, पर्वतका खेलाडी हप्तैपिच्छे जम्मा भएर फुटबल खेल्थ्यौँ । अहिले अक्कल–झुक्कल गोदाम, बड गाउँलगायतका अव्यवस्थित र साँघुरा मैदानमा प्रतियोगिता हुने गर्छ,’ उनले भने।

कुश्मा नगरपालिका–५ का वडाध्यक्ष रामहरि शर्माले आफ्नो बाल्यकाल बडगाउँचौरमै खेलेर बितेको स्मरण गर्छन् । २०४२/४३ को सम्झना सुनाउँदै भने, ‘५५ गाविसका माध्यमिक विद्यालय वीरेन्द्र च्यालेन्ज शिल्ड प्रतियोगितामा सहभागी हुन आउँथे । खेलमैदान विद्यार्थी र दर्शकको भिडले टनाटन हुन्थ्यो ।’

सशस्त्रको नाममा पुर्जा भइसकेको चौर फिर्ता ल्याउन सम्भव नरहे पनि बिहान– बेलुकी खेलाडीलाई बिना अवरोध चौर उपलब्ध गराउनु पर्ने उनको माग छ । कुश्माका खेलाडीलाई सहज तरिकाले आफ्नो प्रतिभा प्रस्फुटन गर्न पनि खेलाडीलाई सशस्त्रले मैदान उपलब्ध गराउनुपर्नेमा स्थानीयको समेत माग छ । बडगाउँचौरमा फुटबल, भलिबल, हृयाण्डबल, टेबल टेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङ जम्प, दौडलगायत खेल खेलिने गरिएको थियो ।

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully