सहाराको गोलमा नेपाल विजयी

भुटानका लागि कुन्डेन सोनामले हेडबाट ४२ औं मिनेटमा आकर्षक गोल गरेकी थिइन् । नेपालबाट सहाराले ५७ औं मिनेटमा बराबरी गोल फर्काइन् । उनले नै ७६ औं मिनेटमा दोस्रो गोल गरिन् ।

भाद्र ७, २०८२

कान्तिपुर संवाददाता

Nepal won on the goal of Sahara

काठमाडौँ — सहारा लिम्बूको दुई गोलप्रेरित नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपमा शुक्रबार भुटानमाथि २–१ को पुनरागमन जित रचेको छ । थिम्पुको चाम्लिथाङ रंगशालामा भएको खेलमा भुटानले सुरुआती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

भुटानका लागि कुन्डेन सोनामले हेडबाट ४२ औं मिनेटमा आकर्षक गोल गरेकी थिइन् । नेपालबाट सहाराले ५७ औं मिनेटमा बराबरी गोल फर्काइन् । उनले नै ७६ औं मिनेटमा दोस्रो गोल गरिन् । 

यी दुवै गोलका लागि सहाराले धन्यवाद दिनुपर्ने हुन्छ, भुटानी गोलरक्षक केल्जिङ वाङ्मोलाई । दुवै गोल उनकै भुलले सम्भव भएको थियो । दुवै अवसरमा वाङ्मोले बल रोक्न सक्नुपर्ने थियो । यससँगै डबल राउन्ड रोबिनको आधारमा भइरहेको छनोटमा नेपालको दुई खेलबाट तीन अंक भएको छ । भुटान भने दुई खेलबाट लगातार हारसँगै अंकविहीन रह्यो ।

अब नेपालले आइतबार बंगलादेशको सामना गर्नेछ । त्यही दिन भारत भुटानसँग भिड्ने छ । भारत २ खेलबाट ६ अंकसहित शीर्षस्थानमा छ । टोली उपाधिका लागि बलियो प्रत्याशी बनेको छ । भारतले शुक्रबार लगातार दोस्रो जित निकाल्ने क्रममा बंगलादेशलाई २–० ले हराएको हो ।

पहिलो खेलमा भारतले प्रत्येक हाफमा एक–एक गोल गरेको थियो । पर्ल फर्नान्डेजले १४ औं मिनेटमा गोलको खाता खोलिन् । त्यसपछि बोनिफिला सुलाईले ७६ औं मिनेटमा दोस्रो गोल थपिन् । हारले बंगलादेश पनि ३ अंकमा सीमित रह्यो ।

कान्तिपुर

Link copied successfully