बैंकले शुक्रबार आगामी वर्षका लागि पनि सम्झौता नवीकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।
What you should know
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र कृषि विकास बैंकबीच ब्रान्ड एम्बासडरका लागि सम्झौता नवीकरण भएको छ ।
कृषि विकास बैंकले गत वर्ष नै साम्बालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको थियो । बैंकले शुक्रबार आगामी वर्षका लागि पनि सम्झौता नवीकरण गरेको हो । सम्झौता रकम भने आपसी समझदारीमा तय भएको बताइएको छ ।
सम्झौतापत्रमा बैंकका उपमहाप्रबन्धक सुदीपकुमार दाहाल र सावित्राले हस्ताक्षर गरेका थिए । बैंकको तर्फबाट मार्केटिङ विभाग प्रमुख सरिता दाहाल थिइन् ।
सावित्राले कृषि विकास बैंकसँगको सम्झौता आफ्नो भावनासँग जोडिएको स्मरण गरिन् । उनले भनिन्, ‘मेरो लागि पहिलो ब्रान्ड एम्बासडरको प्रस्ताव कृषि विकास बैंकले गरेको थियो । सानो हुँदा मैले विज्ञापनमा धेरै कलाकार र खेलाडीको तस्बिर देख्थें । सपना थियो मेरो पनि त्यस्तो दिन आउँछ होला । यस बैंकले पहिलो पटक एम्बासडर नियुक्त गर्दा निकै खुसी लागेको थियो । बैंकले गरेको विश्वासप्रति सदा आभारी छु ।’
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सावित्रा फुटबल खेलाडी मात्र नभई मिहिनेतको प्रतीक पनि भएको बताए । ‘साम्बासँग कृषि विकास बैंक जोडिनु भनेको हाम्रा लागि प्रतिष्ठाको विषय हो । उहाँले देश र विदेशमा खेल्दा हाम्रो बैंकको प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ खेलकुद क्षेत्रमा अब्बल भएजस्तै हामी पनि बैंकिङ क्षेत्रमा अब्बल हुने लक्ष्यसाथ अघि बढेका छौं । उहाँ मिहिनेतले हामीलाई पनि अझ राम्रो गर्न प्रेरित गर्छ ।’ उनले भने ।
मार्केटिङ विभाग प्रमुख दाहालले बैंकलाई दूरदराजसम्म पुर्याउन साम्बा उपस्थितिले बेग्लै प्रभाव दिइन् ।
साम्बालाई गत साता म्याक्सीम्याक्स एजुकेसन एन्ड भिसा सर्भिसेस र हिरो मोटोकर्पले पनि एम्बासडर नियुक्त गरेको थियो ।
