प्रिमियर प्लस टु बास्केटबल च्याम्पियन

रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा शुक्रबार फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ७९–७२ स्कोरले पराजित गर्‍यो ।

भाद्र ६, २०८२

कान्तिपुर संवाददाता

Premier Plus Two Basketball Champion

काठमाडौँ — प्रिमियर आईबी स्कुलले ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबलको उपाधि जितेको छ ।

रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा शुक्रबार फाइनलमा प्रिमियरले क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) लाई ७९–७२ स्कोरले पराजित गर्‍यो । समूह चरणमा पनि प्रिमियरले सीसीआरसीलाई हराएको थियो । अपराजित रहँदै उपाधि जितेको प्रिमियरका लागि अश्विन चालिसे एक्लैले ३२ स्कोर जोडे ।

पहिलो क्वाटरमा १९–१४ को अग्रता लिएको प्रिमियर दोस्रोमा २०–२२ ले पछि पर्‍यो । प्रिमियरले तेस्रो क्वाटरमा २३–१० को अग्रता बनाउँदै जितको आधार खडा गर्‍यो । चौथोमा सीसीआरसी २६–१७ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन ।

प्रिमियरले २५ हजार र उपविजेता सीसीआरसीले १० हजार पुरस्कार पाए । अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सीको आयोजना भएको प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता अश्विन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार पुरस्कार हात पारे । सीसीआरसीका आशालाल श्रेष्ठ उदीयमान खेलाडी चुनिए ।

विजेतालाई थाइल्यान्डका राजदूत सुवापोङ सिरिसन, अबाइडका प्रबन्ध निर्देशक मनीष श्रेष्ठ र सीईओ आशिष श्रेष्ठले पुरस्कृत गरे । रोयल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापन र चोकोफलको सहयोगमा भएको प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully