पहिलो खेलमै भारतसँग ७–० को फराकिलो हार, अब नेपालले आयोजक भुटानसँग खेल्ने छ।
What you should know
काठमाडौँ — नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपमा बुधबार खराब सुरुआत लिएको छ । यो यति बिर्सनलायक हार रह्यो कि यसले प्रतियोगिताका बाँकी खेलसमेत प्रभावित पार्न सक्नेछ ।
भुटानको थिम्पुस्थित चाङलिमाथाङ रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलमा भारतले नेपाललाई ७–० ले पराजित गरेको हो । भारतको जितमा अभीष्ट बस्नेत, नीरा चानु र अनुष्का कुमारीले समान दुई गोल गरे ।
जुलन नोन्गमाइथिमले एक गोल गरिन् । भारत पहिलो हाफमा ५ गोलले अगाडि थियो । खेलको सुरुमै नेपालले केही आकर्षक खेल प्रदर्शन गरे पनि त्यसपछि भारतले नियमित अन्तरमा गोल गरेको हो ।
नेपालको सबैभन्दा कमजोर प्रदर्शन पहिलो हाफमै रह्यो । अभीष्टले १४ औं मिनेटमा पहिलो गोल गरिन् । त्यसपछि २३ औं मिनेटमा नीराले दोस्रो गोल गरिन् । अनुष्काले ३३ औं मिनेटमा तेस्रो गोल थपिन् । पहिलो हाफ सकिन चार मिनेटअघि अभीष्टले व्यक्तिगत दोस्रो गोल गरिन् ।
अझ पहिलो हाफको इन्ज्युरी समयमा जुलनले पाँचौं गोल गरेकी हुन् । दोस्रो हाफमा नीराले र अनुष्काले एक–एक गोल गरेका थिए । खेलपछि नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले हारमा निराशा पोखे । उनले भने, ‘सुरुको १०–१५ मिनेट हाम्रो प्रदर्शन ठीकै रह्यो । सुरुमै पाएका केही अवसरको फाइदा लिन सकेनौं । त्यसमा गोल गरेको भए हामी अगाडि हुन सक्थ्यौं ।’
उनले थपे, ‘यसै कारण उनीहरूको उत्साह बढ्यो भने हाम्रो घट्यो । तर हाम्रा खेलाडीले आक्रमण बुनिरहे । अबको खेलमा कमी कमजोरी हटाएर खेल्ने छौं । दोस्रो हाफमा हाम्रो प्रदर्शन राम्रो रह्यो । अबको खेलमा हाम्रो खेलाडीले राम्रो खेल्नेछन् । भारतले पाएका मौकाको फाइदा उठाएर गोल गर्यो, हामीले सकेनौं ।’
दोस्रो खेलमा अल्पी अख्तरको दुई गोल मदतमा बंगलादेशले आयोजक भुटानलाई ३–१ ले हरायो । सौरभी प्रीतिले पहिलो हाफको इन्ज्युरी समयमा पहिलो गोल गरिन् । त्यसपछि ५४ औं मिनेटमा अल्पीले दोस्रो गोल थपिन् । भुटानका लागि ६१ औं मिनेटमा रिन्जिन डेमाले एक गोल फर्काइन् ।
बंगलादेश त्यत्तिकैमा रोकिएन । टोलीका लागि ६५ औं मिनेटमा अल्पीले तेस्रो गोल गरिन् । यो जितपछि बंगलादेशको पनि ३ अंक भएको छ । भुटान र नेपाल दुवै अंकविहीन रह्यो । गोल अन्तरले नेपाल पुछारमा छ । राउन्ड रोबिन लिगका आधारमा सुरु भएको प्रतियोगितामा नेपालको स्थिति कमजोर बनेको छ ।
प्रतियोगितामा कुल चार टिमको सहभागिता छ । सहभागी अन्य टिममा आयोजक भुटान र बंगलादेश छन् । लिग चरण समाप्तिमा शीर्षस्थानमा रहने टिम विजेता बन्नेछ । अब नेपालले शुक्रबार हुने खेलमा आयोजक भुटानको सामना गर्नेछ । त्यसअघि भारत र बंगलादेश भिड्ने छन् ।
