नेपालले पहिले ब्याटिङ गर्दै १ सय ४० रनको लक्ष्य तयार पारेको थियो । त्यसलाई पछ्याउने क्रममा रेनेगेट्स २० ओभरमा १ सय ६ रन बनाएर अलआउट भयो ।
काठमाडौँ — सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । नेपालले अस्ट्रेलियाको काजालिस एरिनामा बुधबारको खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो । अघिल्लो दिन नेपालले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनले हराएको थियो ।
नेपालले पहिले ब्याटिङ गर्दै १ सय ४० रनको लक्ष्य तयार पारेको थियो । त्यसलाई पछ्याउने क्रममा रेनेगेट्स २० ओभरमा १ सय ६ रन बनाएर अलआउट भयो । टोलीका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए ।
जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन बनाए । रेनेगेड्सलाई सस्तोमा समेट्न सोमपालले प्रमुख भूमिका निभाए । उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ५ विकेट लिए । कुशल भुर्तेलले २ तथा रूपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले एक–एक विकेट हात पारे ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । कुशल मल्लले सर्वाधिक २९ रन जोडे । कप्तानी भूमिकामा रहेका दीपेन्द्रले २७ रनको योगदान दिए । यस्तै लोकेश बमले २४ र भीम सार्कीले १७ रन बनाए ।
नेपाल सुरुआती तीन खेलमा लगातार पराजित भएपछि त्यसपछि दुई खेलमा विजयी रहेको हो । अब नेपालको ५ खेलबाट ४ अंक भएको छ ।
