पाल्पा जिल्ला भलिबल संघले तानसेनमा जापान जोकियो क्लबलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्यो।
What you should know
पाल्पा — भलिबलका राष्ट्रिय खेलाडी हिमाल सुनारीसहित तीन जना लोकप्रिय खेलाडी समावेश गरेको पाल्पा जिल्ला भलिबल संघले पाल्पाको तानसेनमा सम्पन्न ‘दोस्रो रणउजिरेश्वरी भगवती कप’ को उपाधि चुमेको छ ।
श्रीनगर भलिबल क्लब पाल्पाको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत सोमबार तानसेन टुँडिखेलमा सम्पन्न फाइनलमा फरइभर जापान जोकियो भलिबल क्लब (स्याङ्जा) लाई ३–२ सेटले पराजित गर्दै पाल्पा जिल्ला भलिबल संघले उपाधि जितेको हो ।
संघले २५–१७, २२–२५, २६–२८, २५–२१ र १३–१५ को सेटमा जापान टोकियो भलिबल क्लबलाई पराजित गरेको हो ।
विजेता भएसँगै जिल्ला भलिबल संघ पाल्पाले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता भएसँगै फरइभर जापान जोकियो भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्रमै चित्त बुझायो । गत साउन २८ गतेदेखि सुरु प्रतियोगितामा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले जिएम समाज नवलपुर (पूर्व नवलपरासी) लाई ३–१ ले पछि पार्दै तेस्रो स्थान हासिल गरेको छ ।
मणिमुकुन्दले २८–२६, २५–१४, २१–२५ र २५–१६ को सेटमा नवलपुरलाई पछि पारेको हो । तेस्रो भएसंगै नगद ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तवना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ ।
लिग खेलाइएको प्रतियोगितामा पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो । विद्यागततर्फ उत्कृष्ट खेलाडी पाल्पा जिल्ला भलिबल संघका हिमाल सुनारी भए । बेष्ट सर्भर संघकै अशोक श्रेष्ठ, डिफेन्सतर्फ फ्रेन्ड्स फरइभर जापान टोकियोका राजन दर्लामी, ब्लकर मणिमुकुन्द भलिबल क्लबका लोचन आले, सेटरमा मणिमुकुन्दकै दिपेश कुंवर, स्पाइकर फ्रेन्ड्स फरइभरकै सञ्जुविक्रम शाह भएको श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण आलेले जानकारी दिए ।
महिलातर्फ निस्दी भलिबल क्लबलाई पछि ३–० को सेटमा पछि पादै चण्डेश्वरी युवा क्लब रिब्दीकोट–६, ठिमुरे पहिलो भएको छ । उसले २५–१३, २५–२० र २५–२३ को सेटमा पछि पार्दै पहिलो भएको हो । पहिलो भएसँगै प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् । महिलातर्फ तेस्रो भएको कानुङ भलिबल क्लब पाल्पाले ३–० को सेटमा न्यु होराइजन भलिबल क्लब तानसेनलाई पछि पार्दै तेस्रो भएको छ ।
तेस्रो हुने कानुङ भलिबल क्लबले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाए भने सान्त्वना भएको न्यूहोराइजन हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ । विद्यागत महिलातर्फ उत्कृष्ट खेलाडी चण्डेश्वरी युवा क्लबकी अनिसा रोका, डिफेन्समा चण्डेश्वरीकै रस्मिता गुरुङ, ब्लकर निस्दीकी लोकमाया बयम्बु, सेटरमा न्यू होराइजनकी प्रतिभा चौधरी, स्पाइकर चण्डेश्वरीकी सोइङ्ग थापा र सर्भरमा निस्दीकी रिचा गाहा भएको श्रीनगर भलिबल क्लबका सचिव दीपक चौहानले जानकारी दिए ।
विजेता टिम तथा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्ण बहादुर आले, नेपाली काग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ लगायतले नगद पुरस्कार, ट्रफि, प्रमाणपत्र वितरण गरेका थिए ।
स्वास्थ्यमन्त्री सारुले देश तथा विदेशमा नाम राख्ने खेलकुदको माध्यम भएकाले तल्लो तहबाटै खेलकुदलाई प्राथमिकता दिएर अघि बढाउनुपर्नेमा जोड दिए । उनले लुम्बिनी प्रदेश सरकारले पनि खेलुकदको क्षेत्रलाई महत्वका साथ हेरेर सोही अनुसारको बजेट व्यवस्थापन गर्दै आएको बताए ।
