राष्ट्रिय मिनी स्केट म्याराथन असोज ४ मा

काठमाडौं सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सकिने प्रतियोगिता ५ किमि दूरीमा हुनेछ  ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

National Mini Skate Marathon on October 4th

What you should know

काठमाडौँ — द स्केट ल्यान्डले नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन गर्ने भएको छ ।

काठमाडौं सुन्दरीजलको आलापोटबाट सुरु भई गोकर्ण तालिम चोकमा सकिने प्रतियोगिता ५ किमि दूरीमा हुनेछ  । प्रतियोगितामा नेपाल, भारत र दुबईका गरी २ सय खेलाडीले सहभागिता जनाउने मंगलबार पत्रकार सम्मेलनमा आयोजक द स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले जानकारी गराए । नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

विजेताले ५० हजारसहित स्केट सुज, सेफ्टी गियर पुरस्कार प्राप्त गर्नेछन् । रजत विजेताले ३० हजार र स्केट सुज  र कांस्य पदक विजेताले १५ हजार र सेफ्टी गियर प्राप्त गर्नेछन् ।

नेपालमा सञ्चालनमा रहेका ३ सयभन्दा वढी स्केट पार्कमा रहेका उत्कृष्ट खेलाडी तथा भारतबाट ५० बढी खेलाडी प्रतिस्पर्धाका लागि आउने अपेक्षा छ । प्रतियोगिता आयोजनाको उद्देश्य नेपालमा स्केट खेलको विकास तथा यो खेलमा आवद्ध युवा खेलाडीलाई व्यावसायिक बनाउने रहेको छ ।

नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्केट मिनी म्याराथन भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले व्यावसायिक रूप लिन कोसेढुंगा साबित हुने बताए । उनले नेपालमा स्केटका विभिन्न १२ इभेन्ट रहेको र त्यसमा इनलाइन स्केटको नयाँ विधामा खेलाडीको सम्भावना धेरै रहेको बताए ।

तीन वर्षअघि स्थापित द स्केट ल्यान्डका संस्थापक राईले अब नियमित रूपमा प्रतियोगिता गर्ने र इनलाइन स्केट खेललाई सक्रिय बनाउने बताए ।

अध्यक्ष खनालले हरेक जिल्ला–जिल्लामा स्केट पार्कहरू तीव्र गतिमा खुलिरहेकाले त्यसलाई व्यवस्थित ढंगले अघि बढाउन संघले पहल गर्नुका साथै स्वीकृति लिन अनिवार्य गरिएको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully