आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित

फरवार्ड लाइन मजबुत बनाउन २० करोड पाउन्ड खर्च गरे पनि आर्सनलसँगको खेलमा म्यानचेस्टर युनाइटेडले गोल गर्न सकेन।

भाद्र २, २०८२

एएफपी

Manchester United defeated by Arsenal

What you should know

लन्डन — नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । 

ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन सिजनमा उपविजेता रहेको आर्सनलका व्यवस्थापक मिकेल आर्टेटामाथि २००३–०४ यता पहिलो लिग उपाधि दिलाउन ठूलो दबाब रहेको छ ।

युनाइटेडले फरवार्ड लाइन मजबुत बनाउन म्याथ्युज कुन्हा, ब्रायन एमबेउमो र बेन्जामिन सेस्कोलाई २० करोड पाउन्ड खर्च गरेर भित्र्याएको थियो । कुन्हा र एमबेउमोले राम्रो प्रभाव देखाए पनि गोल भने गर्न सकेनन् । सेस्को दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । युनाइटेडले गत सिजन ३८ प्रिमियर लिगमा केवल ४४ गोल मात्र गर्न सकेको थियो र टोली १५ औं स्थानमा रहेको थियो । ५१ वर्षयता युनाइटेडको त्यो सबैभन्दा कमजोर प्रदर्शन थियो । 

क्लब वर्ल्डकप विजेता चेल्सी पनि नयाँ सिजनको आफ्नो पहिलो खेलमै क्रिस्टल प्यालेसबाट गोलरहित बराबरीमा रोकिएको छ । स्टामफोर्ड ब्रिजमा एकै अंक मात्र बटुल्न सक्नु चेल्सीका लागि निराशाजनक सुरुवात रह्यो ।

आइतबारकै अर्को खेलमा पहिलो हाफमा सम्भव तीन गोलको मद्दतले नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गर्‍यो । त्यसमा फरेस्टका लागि क्रिस उडले दुई गोल गरे । उनले पाँचौं मिनेटमा गोलको खाता खोलेपछि डान एनडोयले ४२ औं मिनेटमा दोस्रो गोल थपे । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा उडले तेस्रो गोल गरे । ब्रेन्टफोर्डका तर्फबाट सम्भव एक मात्र गोल इगोर थिएगोको नाममा रह्यो । उनले ७८ औं मिनेटमा पेनाल्टीबाट गोल गरे तर यो सान्त्वना गोलभन्दा बढी हुन सकेन र फरेस्ट लिगमा उत्कृष्ट सुरुवात लिन सफल रह्यो ।

फरेस्टले सिजनको पहिलो लिग खेलमा जित निकालेको पनि यो २०१७–०१८ यता पहिलो पटक हो । अर्कोतर्फ ब्रेन्टफोर्डका नयाँ प्रशिक्षक केथ एन्ड्र्युले भने आफ्नो पहिलो जिम्मेवारीमा हार बेहोरेका छन् । यसअघि म्यानचेस्टर सिटीले उपाधिमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने क्रममा शनिबार विजयी सुरुवात लिएको छ ।

उसले इर्लिङ हालान्डको दुई गोलको मद्दतले उल्भ्सलाई ४–० ले हराएको हो । सिटीका लागि टिजानी रेजिन्डर्स र रायन सेर्कीले १–१ गोल गरे । 

बार्सिलोनाका विजयी सुरुवात

म्याड्रिड : स्पेनी ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शनिबार बलियो सुरुवात लिएको छ र यस क्रममा रियल मार्लोकामाथि ३–० को जित रचेको छ । ९ खेलाडीमा सीमित रहेको मार्लोकालाई बार्सिलोनाले उसकै घरमा हराएको हो । क्याटलान क्लबका लागि राफिन्हाले सातौं मिनेटमा गोलको खाता खोले ।

फेरान टोरेसले २३ औं मिनेटमा दोस्रो गोल थपे । लामिन यामलले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल गरे । बार्सिलोनाका लागि मार्कस रसफोर्डले औपचारिक रूपमा डेब्यु पनि गरेका छन् । अन्य खेलमा डेपोर्टिभो एलाभेसले लाभेन्टेलाई २–१ ले पराजित गर्‍यो भने भने भ्यालेन्सिया र रियल सोसिडाडबीचको खेल १–१ को बराबरीमा रोकियो । 

एएफपी

Link copied successfully