स्पाइकर्सले तेस्रो विदेशी खेलाडीका रूपमा मिडल ब्लकर/अपोजिट हिटर इटालियन खेलाडी ओमिमा कोडिललाई अनुबन्ध गरेको हो । यसअघि बुल्गेरियन सेटर निकोभा र काजकिस्तानकी अपोजिट हिटर एलिनालाई अनुबन्ध गरिसकेको छ ।
What you should know
काठमाडौँ — वात्सल्य एभरेस्ट महिला भलिबल लिग(ईडब्लूभी) का लागि काठमाडौं स्पाइकर्सले इटालियन खेलाडी ओमिमा कोडिललाई अनुबन्ध गरेको छ ।
स्पाइकर्सले तेस्रो विदेशी खेलाडीका रूपमा मिडल ब्लकर/अपोजिट हिटर कोडिललाई अनुबन्ध गरेको हो । यसअघि बुल्गेरियन सेटर निकोभा र काजकिस्तानकी अपोजिट हिटर एलिनालाई अनुबन्ध गरिसकेको छ ।
तीन फरक पोजिसनका विदेशी खेलाडी अनुबन्ध गर्दै काठमाडौं स्पाइकर्सले टिम सन्तुलन बलियो बनाएको जनाएको छ । पहिलो सिजनमा काठमाडौंबाट टर्की र बुल्गेरियाका खेलाडीले खेलेका थिए ।
एक दशकभन्दा लामो समयको अनुभव रहेकी कोडिलले मिडल ब्लकरमा खेल्दै आएकी छन् । उनी अपोजिट हिटरमा पनि खेल्न सक्छिन् । स्लाइड अट्याकमा उनको विशेष दख्खल रहेको स्पाइकर्सको भनाइ छ ।
जन्म मोरक्को भए पनि कोडिलले इटालीबाट खेल्छिन् । उनले फ्रान्स, मोरक्को, साउदी अरेबियालगायत देशमा विभिन्न टिममा रहेर प्रतियोगिता खेलिसकेकी छन् । उनले सन् २०१९ मा मोरक्को राष्ट्रिय टिमबाट अफ्रिकन गेम्समा कांस्य पदक जितेकी थिइन् ।
पहिलो पटक नेपालमा लिग खेल्न आउन लागेकी कोडिल निकै उत्साही छन् । ‘नेपालमा एभरेस्ट महिला भलिबल लिगमा खेल्न पाउनु मेरा लागि ठूलो सम्मानको कुरा हो । नेपालमा पहिलो पटक खेल्दै छु । नेपालका भलिबल फ्यानलाई भेट्न र कोर्टमा उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छु,’ उनले स्पाइकर्सको विज्ञप्तिमा बताएकी छन् ।
तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि स्पाइकर्समा खेलाडीसंख्या ११ पुगेको छ । अब ट्यालेन्ट हन्टबाट एक खेलाडी लिन बाँकी छ ।
राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर उषा भण्डारीलाई मार्की प्लेयरमा निरन्तरता दिएको स्पाइकर्सले अक्सनबाट ७ खेलाडी अनुबन्ध गरेको थियो । काठमाडौंले अक्सनबाट मनीषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । प्रशिक्षकमा लोकबहादुर बुढालाई नियुक्त गरेको छ ।
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ सम्म पोखरामा हुनेछ ।
