खुल्ला दौड प्रतियोगितामा राउत पहिलो

पस्लाङदेखि पदेली महादेवस्थान सम्मको निर्धारित ६.५ किलोमिटर दौड २१ मिनेट ५० सेकेन्डमा पार गर्दै गणेशसिंह राउत पहिलो बनेका हुन् ।

भाद्र १, २०८२

हरिराम उप्रेती

Raut first in open race competition

गोरखा — जेसिज सप्ताह अन्तर्गत आइतबार भएको खुल्ला दौड प्रतियोगितामा गणेशसिंह राउत पहिलो बनेका छन् । पस्लाङदेखि पदेली महादेवस्थान सम्मको निर्धारित ६.५ किलोमिटर दौड २१ मिनेट ५० सेकेन्डमा पार गर्दै राउत पहिलो बनेका हुन् ।

पहिलो बनेका राउतले १५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, प्रतियोगितामा यमराज खत्री दोस्रो, गौतम श्रेष्ठ तेस्रो र सरोज गिरी सान्त्वना बने । दोस्रो, तेस्रो र सान्त्वना बन्ने प्रतियोगीले क्रमश: सात हजार पाँच सय, ४ हजार र दुई हजार नगद पुरस्कार पाएको गोरखा जेसिजका रचन परियारले जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा सहभागी बनेर पहिलो बन्ने महिला धावक दुर्गा साउदलाई दुई हजार नगद पुरस्कार प्रदान गरिएको छ । खुल्ला दौड प्रतियोगितमा ५३ धावकले सहभागिता जनाएका थिए । 

Raut first in open race competition

त्यस्तै, प्रतियोगिताको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता धावक गोरखा नगरपालिका–२ का टिकाबहादुर बोगटीलाई सम्मान गरिएको छ । बोगटीले नेपालको प्रतिनिधित्व गरेर भारतको चेन्नईमा सम्पन्न सातौँ साग १९९५ स्वर्ण पदक जितेका थिए ।

त्यस्तै, दुई पटकको ओलम्पिक म्याराथन दौडमा सहभागी बनेका बोगटीलाई सिंगो राष्ट्रलाई विश्वसामु चिनाउन पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

जेसिज सप्ताह–२०२५ को उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बोगटीलाई सम्मान पत्र प्रदान गरेका हुन् ।  

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully