नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार २२ औं संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
What you should know
काठमाडौँ — उसुका विजय सिञ्जाली, टेबलटेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल । यी ती नाम हुन्, जसलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को पिपल्स च्वाइसमा मनोनयन गरिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार २२ औं संस्करणको स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । उनीहरूको प्रदर्शनसँगै मिडिया कभरेज, खेलाडीको क्रेजलाई विशेष ध्यानमा राखेर मनोनयन गरिएको आयोजक मञ्चले जनाएको छ ।
स्पोर्ट्स अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ । अवार्ड भदौ २९ गते पोखरामा हुँदै छ । मनोनयनमा परेकी रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुसी लागेको र आफ्नो एक सपना पूरा भएको बताइन् । उनले भनिन्, ‘स्पोर्ट्स अवार्डमा मनोनीत हुनु मेरो सपना थियो, आशा गर्छु खेलप्रेमीहरूले मलाई माया गर्नु हुनेछ ।’
विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभए पनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले भने, ‘स्पोर्ट्स अवार्डमा धेरै वर्ष मञ्चमा उत्रेको छु । सो समय मेरो भूमिका फरक थियो । म सोच्थें, कुनै दिन मनोनयनमा पर्नेछु, त्यो सपना पूरा भएको छ ।’
पूजा, इभाना र हिमाल उपस्थित हुन सकेनन् । पूजा क्रिकेट प्रशिक्षणका क्रममा भारतमा छिन् । यसैगरी इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् । पिपल्स च्वाइस विधाका विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीेमा प्राप्त मतका आधारमा हुनेछ ।
त्यसमध्ये ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आईएमई खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ । यसैगरी सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । यो विधाका विजेताले पल्सर मोटरबाइक जित्नेछ ।
गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । स्पोर्ट्स अवार्डमा कुल १० विधामा अवार्ड प्रदान गरिनेछ । जसमा पिपल्स च्वाइसलगायत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् ।
मञ्च र आईएमई खल्तीबीच सम्झौता
मञ्च र विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी आईएमई खल्तीबीच आइतबारै भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आईएमई खल्तीका चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । त्यस अवसरमा गौतमले यसपल्टको स्पोर्ट्स अवार्ड पोखरामा हुनु र खल्तीसँगको सम्झौता फरकपन रहेको बताए ।
