टाइसन विष्ट, वसन्त विष्ट र अस्मिता बुढा मगरले प्रथम स्थान प्राप्त गर्दै स्वर्ण पदक जितेका छन्, २७ देशका खेलाडी सहभागी थिए।
दाङ — थाइल्यान्डको बैंककमा साउन २४ र २५ गते भएको आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दाङका तीन खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन् । प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङ घोराहीबाट ६ जना खेलाडी सहभागी भएका थिए ।
जसमध्ये प्रतियोगी टाइसन विष्ट, वसन्त विष्ट र अस्मिता बुढा मगरले प्रथम स्थान हासिल गरी स्वर्ण पदक जितेका छन् ।
प्रतियोगीहरू शुभम केसी र आयुषा सिंह ठकुरीले द्वितीय स्थान हासिल गरी रजत पदक जितेका छन् । खेलाडी निशा पुन मगरले तृतीय स्थान हासिल गरी कांस्य पदक जितेकी छिन् । प्रतियोगितामा २७ देशका खेलाडीहरू सहभागी थिए ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी सुनिता विष्ट अन्तर्राष्ट्रिय निर्णायकको भूमिकामा सहभागी भएकी थिइन् । निर्णायकसहित विजेता खेलाडीलाई बिहीबार घोराहीमा स्वागत सम्मान गरिएको अल्फा तेक्वान्दो डोजाङका अध्ययक्ष पदम केसीले बताए ।
