घोराहीस्थित गुरुकुल एकेडेमीका केसीले थाइल्यान्डको पटायामा आयोजित प्रतियोगितामा रसियन खेलाडीलाई हराउँदै रजत पदक जितेका छन्।
रुकुम पश्चिम — थाइल्यान्डमा आयोजित तेक्वान्दो प्रतियोगितामा रुकुम पश्चिमका एक बालकले दोस्रो स्थान हासिल गरेका छन् । बाँफिकोट गाउँपालिका–३ दह स्थायी ठेगाना भई हाल घोराहीमा बस्ने वर्ष १२ का शुभम् केसीले आठौं हिरोज अन्तराष्ट्रिय प्रतियोगितामा २६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उक्त स्थान हासिल गरेका हुन् ।
घोराहीस्थित गुरुकुल एकेडेमीमा कक्षा ६ मा अध्ययनरत् केसी घोराही–१५ मा रहेको अल्फा तेक्वान्दो डोजाङबाट नेपालको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा सहभागी भएको उनकी प्रशिक्षक सुनिता विष्टले बताइन् ।
अगस्ट ८ र ९ मा थाइल्यान्डको पटाया सहरमा आयोजना गरिएको क्याडेट अन्डर टुवेलअन्तर्गत पुरुष अन्डर ३३ किलोका खेलाडीबीच भएको प्रतिस्पर्धामा केसीले रसियाका खेलाडीलाई जितेर उक्त स्थान हासिल गरेको प्रशिक्षक विष्टले जनाइन् ।
जम्मा २७ देशका खेलाडी सहभागी भएको यो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो छोराले दोस्रो स्थान हासिल गरेकोमा खुसी लागेको उनकी आमा शारदा केसीले बताइन् ।
