प्रधानको अध्यक्षतामा बन्यो एनओसी तदर्थ समिति

एक साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्तमान एनओसी कार्यसमिति अवैधानिक रहेको र छिटै नयाँ समिति गठन गर्ने घोषणा गरेका थिए ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

NOC ad hoc committee was formed under the chairmanship of Pradhan

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ तदर्थ समिति गठन गरिएको छ । पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएपछि एनओसीमा आधिकारिकताको विवाद निम्तिएको छ ।

एक साताअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्तमान एनओसी कार्यसमिति अवैधानिक रहेको र छिटै नयाँ समिति गठन गर्ने घोषणा गरेका थिए । त्यही पृष्ठभूमिमा प्रधानको नेतृत्वमा तदर्थ समिति गठन गरिएको हो । 

तदर्थ समितिको प्रवक्तामा समिम मियाँ अन्सारी रहेका छन् । कुस्ती संघका पूर्वअध्यक्ष अन्सारी नेपाल मुस्लिम आयोगका पूर्वअध्यक्ष पनि हुन् । उनकै हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत प्रधानको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको जनाइएको छ । 

एनओसीसँग आबद्ध २३ राष्ट्रिय खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीको भेलाले तदर्थ समिति गठन गरिएको एनओसीकै लेटरहेड र छापमा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य पदाधिकारीबारे उल्लेख गरिएको छैन । गत पुसमा सम्पन्न एनओसी निर्वाचनले जीवनराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । 

कान्तिपुर

Link copied successfully