राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रही आवधिक रूपमा निर्वाचन हुँदै आएको अध्यक्ष जीवनराम श्रेष्ठ र राजीव श्रेष्ठ महासचिव रहेको एकमात्र नेपाल ओलम्पिक कमिटी नै नेपालको आधिकारिक ओलम्पिक रहेको कमिटीको जनाएको छ ।
What you should know
काठमाडौँ — नेपाल ओलम्पिक कमिटीले बुधबार विज्ञप्ति जारी गर्दै एनओसी तदर्थ समिति गठन सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रही आवधिक रूपमा निर्वाचन हुँदै आएको अध्यक्ष जीवनराम श्रेष्ठ र राजीव श्रेष्ठ महासचिव रहेको एकमात्र नेपाल ओलम्पिक कमिटी नै नेपालको आधिकारिक ओलम्पिक रहेको कमिटीको जनाएको छ ।
अघिल्लो दिन पूर्वअध्यक्ष ध्रुवबहादुर प्रधानको अध्यक्षतामा ९ सदस्यीय एनओसी तदर्थ समिति गठन गरिएको विज्ञप्तिमार्फत जनाइएको थियो । एनओसीसँग आबद्ध २३ राष्ट्रिय खेल संघका अध्यक्ष, महासचिव तथा पदाधिकारीको भेलाबाट तदर्थ समिति गठन गरिएको एनओसीकै लेटरहेड र छाप प्रयोग गरेर विज्ञप्ति जारी गरिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ दफा ३७ ले समेत एक देशमा एकमात्र ओलम्पिक कमिटी रहन सक्ने व्यवस्था छ । एउटा ओलम्पिक कमिटी हुँदाहुँदै केही अनाधिकृत व्यक्तिहरूको भेलाले तदर्थ समिति गठन गर्न नसक्ने र त्यस्ता कुनै पनि कमिटीको आधिकारिक नसक्ने श्रेष्ठको नेतृत्वमा रहेको ओलम्पिक कमिटीले जनाएको छ ।
विज्ञप्तिमा प्रयोग भएको लेटरप्याड नेपाल ओलम्पिक कमिटीको रहेको र त्यसमा प्रयोग भएको ओलम्पिक रिङ, लोगो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यताप्राप्त आधिकारिक नेपाल ओलम्पिक कमिटीले मात्र प्रयोग गर्न पाउने दाबी गर्दै एनओसीको लेटरप्याड तथा रिङ, लोगो र ओलम्पिक झण्डाको प्रयोग अनाधिकृत रूपमा प्रयोग नगर्न सूचित गरिएको छ ।
नेपालमा ओलम्पिक गतिविधि गर्ने, आईओसीको छाताभित्र हुने खेलकुद प्रतियोगितामा नेपालको सहभागिताको सुनिश्चितता आधिकारिक ओलम्पिक कमिटीले मात्रै गर्दै आएको कमिटीका महासचिव राजीव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा कमिटीले नेपाली खेलाडीको खेल्न पाउने अधिकारको सुनिश्चितता अन्तर्राष्ट्रिय मान्यताप्राप्त आधिकारिक नेपाल ओलम्पिक कमिटीले नै गर्ने उल्लेख गरिएको छ ।
गत पुसमा सम्पन्न एनओसी निर्वाचनले जीवनराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेपछि ओलम्पिक विवाद सतहमा आएको थियो ।
