कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउनुका साथै जर्सीमा फाउन्डेसनको नाम अंकित हुनेछ । फाउन्डेसनले भविष्यमा यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ — कृष्णा फाउन्डेसन र मधेश प्रदेश क्रिकेट संघबीच एकवर्षे प्रायोजन सम्झौता भएको छ । फाउन्डेसनका उपाध्यक्ष सुजितकुमार कर्ण र मधेश क्रिकेटका अध्यक्ष सुनिलकुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतामा आर्थिक पक्ष खुलाइएको छैन ।
कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउनुका साथै जर्सीमा फाउन्डेसनको नाम अंकित हुनेछ । फाउन्डेसनले भविष्यमा यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । शैक्षिक परामर्शदाता फाउन्डेसनले खेलकुदको माध्यमबाट शिक्षा र विद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताएको छ ।
फाउन्डेसनका उपाध्यक्ष कर्णले भने, ‘एजुकेसन कन्सल्टेन्सी मधेश प्रदेश संघसँग जोडिदा हामीलाई खुसी लागेको छ । हामी भारतमा काम गर्ने सबैभन्दा ठूलो र उत्कृष्ट युनिभर्सिटीमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं । अब खेलकुदको माध्यमबाट अझ धेरै विद्यार्थीमा पहुँच पुर्याउने हाम्रो चाहना छ ।’
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले मधेश प्रदेशलाई फाउन्डेसनको साथ प्रति प्रशंसा गर्दै यो कदम तारिफयोग्य भएको बताए । खड्काले यस्ता प्रायोजनले प्रदेश क्रिकेट संघलाई आत्मनिर्भर बनाउने र यसलाई अन्य सातै प्रदेशले अनुकरण गर्नुपर्नेमा जोड दिए ।
मधेश क्रिकेटका अध्यक्ष महासेठले प्रायोजनबाट प्राप्त रकमलाई ग्रासरुट क्रिकेटको विकासमा लगाइने जानकारी गराए । उनले संघले १० क्रिकेटरलाई मासिक तलब दिँदै आएकामा अब थप २ खेलाडीलाई पनि यसमा समेट्ने बताए ।
मधेश प्रदेशबाट राष्ट्रिय टिममा रहेका क्रिकेटरहरू पवन सर्राफ, रुपेश सिंह र आदिल आलमले खुसी व्यक्त गर्दै यसले आफूहरूलाई थप प्रेरित गर्ने बताए ।
