नेपाल क्रिकेट संघ (क्यान) ले जुलाई ३० मा ५ दिने समय राखेर नेपाली राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । त्यसमा न्यूनतम वार्षिक शुल्क २ करोड राखिएको थियो र त्यो ३ वर्षका लागि हुने जनाइएको थियो ।
What you should know
काठमाडौँ — सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक बनेको छ । नासा सेक्युरिटिजले ३ वर्षका लागि ७ करोडभन्दा बढी रकममा नेपाली राष्ट्रिय पुरुष टोलीसँग सहकार्य गर्न सफल भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले जुलाई ३० मा ५ दिने समय राखेर नेपाली राष्ट्रिय टोलीको जर्सी प्रायोजनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । त्यसमा न्यूनतम वार्षिक शुल्क २ करोड राखिएको थियो र त्यो ३ वर्षका लागि हुने जनाइएको थियो ।
क्यानका सचिव पारस खड्काका अनुसार सिलबन्दी बोलपत्र आह्वानअनुरूप नासा सेक्युरिटिजले प्रतिवर्ष २ करोड ३६ लाख रुपैयाँमा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रायोजन गरेको हो । सम्झौता ३ वर्षका लागि हुनेछ । क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र नासाका प्रबन्ध निर्देशक मदन पौडेलले क्यानका महाप्रबन्धक उत्सव ढुंगाना र नासाका चिफ ग्रोथ अफिसर अनिल श्रेष्ठको रोहवरमा आइतबार भएको कार्यक्रममा सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुरूप नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट जर्सीमा नासा सेक्युरिटिज हुनेछ । क्यान अध्यक्ष चन्द, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नासाका प्रमुख रविन्द्र श्रेष्ठले नयाँ जर्सीको अनावरण गरेका थिए । ‘यो प्रायोजन मात्र नभएर समाजप्रति हाम्रो प्रतिबद्धता पनि हो,’ नासाका प्रबन्ध निर्देशक पौडेलले वित्तीय सशक्तीकरणमा काम गर्दै आएको नासा अब खेलकुदमा पनि काम गर्न पाउँदा उत्साहित रहेको जनाए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सबै क्षेत्रको सहयोगमा नेपाली क्रिकेट अझ अगाडि बढ्ने जनाए ।
ललितको स्थानमा शाहव
नेपाली राष्ट्रिय टोलीका देब्रेहाते स्पिनर ललित राजवंशीको स्थानमा शाहव आलम अस्ट्रेलियामा हुने टप इन्ड टी–२० क्रिकेट प्रतियोगिता खेल्न जाने भएका छन् । ललितकी आमा शुभकुमारी राजवंशीको आइतबार निधन भएको थियो, जसका कारण ललित अस्ट्रेलिया नजाने भएका हुन् । ललित शनिबार नेपाल प्रिमियर लिगको अक्सनमा आमन्त्रितका रूपमा रहेका थिए ।
टप इन्ड टी–२० प्रतियोगिता खेल्न अस्ट्रेलिया जाने नेपाली टोली। तस्बिर : सूर्याम्स उप्रेती/कान्तिपुर
नेपाली टोलीको प्रारम्भिक सूचीमा रहेका देब्रेहाते स्पिनर शाहवलाई ललितको स्थान लिन आइतबार भैरहवाबाट झिकाइएको थियो । नेपाली खेलाडीहरू सोमबार अस्ट्रेलिया लाग्दै छन् । प्रशिक्षक स्टुवार्ट लसहित केही पदाधिकारी आइतबार राति नै अस्ट्रेलिया लागेका छन् ।
नर्थन टेरिटोरीको आयोजनामा अगस्ट १४ देखि २४ सम्म डार्बिनमा हुने यो प्रतियोगितालाई नेपालले अक्टोबरमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप एसिया प्यासिफिक छनोटको तयारीका रूपमा पनि लिएको छ । नेपालले डार्बिनमा आयोजक टोली नर्थन टेरिटोरीसँग अगस्ट १५ मा आफ्नो पहिलो खेल खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ सँग अगस्ट १६ मा, मेलबर्न स्टार्ससँग अगस्ट १८ मा, होबर्ट हरिकन्ससँग अगस्ट १९ मा, मेलबर्न रेनेगेड्ससँग अगस्ट २० मा र पाकिस्तान साहिन्ससँग अगस्ट २० मा खेल्नेछ ।
दुई महिनाअघि स्कटल्यान्डमा नेपालले विश्वकप लिग २ का ४ मध्येका ३ खेल जिते पनि अस्ट्रेलियामा खेल्नु निकै फरक हुने प्रशिक्षक लले जनाए । ८ दिनमा ६ म्याच खेल्नुपर्ने स्थिति रहेको र विश्वकप छनोटलाई लक्षित गरेर टिम अगाडि बढाइएको उनले जनाए ।
कप्तान रोहित पौडेलले अस्ट्रेलियामा राम्रो टोलीसँग खेलिरहेको जनाउँदै नेपाली टोली पनि लयमै रहेको बताए । उनले विश्वकप छनोटलाई मध्यनजर गरेर खेलिरहेको तथा अस्ट्रेलिया भ्रमणले टोली अझै राम्रो हुने विश्वास राखे । क्यान अध्यक्ष चन्दले विश्वकप छनोटअघि बलियो टोलीहरूसँग नेपालले खेल्ने वातावरण बनाइरहेको बताए ।
