एमबीसी कपमा तीन स्वर्णसहित ८ पदक

नेपालका ६ खेलाडीले भाग लिएकामा सबैले पदक जितेका छन् । च्याम्पियनसिपमा ३१ राष्ट्रका झन्डै ३ हजारभन्दा बढी खेलाडीले भाग लिएका थिए ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

8 medals including three golds in the MBC Cup

What you should know

काठमाडौँ — नेपाली तेक्वान्दो खेलाडीले १० औं एमबीसी कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा ३ स्वर्णसहित ८ पदक जितेका छन् ।

दक्षिण कोरियाको थेजन सहरस्थित गेयरेयोङ जिम्न्याजियममा सोमबार सम्पन्न प्रतियोगितामा सीता तामाङ, अञ्जन चौधरी र नीरज देउवाले स्वर्ण पदक जितेका छन् । नीरजले ग्योरोगीतर्फ ‘बी’ लिग सियिनर ८७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

सीताले सिनियरतर्फ व्यक्तिगत पुम्से र पेयर पुम्सेमा स्वर्ण जितेकी हुन् । उनले पेयरमा अञ्जनसँग मिलेर स्वर्ण जितेकी थिइन् । अञ्जनले पनि पुरुष सिनियर व्यक्तिगत पुम्सेतर्फ स्वर्ण जितेका थिए ।

ए लिगअन्तर्गत सिनियर ३० वर्षुमनिको व्यक्तिगत पुम्सेतर्फ रजत जितेका अस्मिन राउतले निशा दर्नालसँग मिलेर पेयर पुम्सेमा पनि रजत जितेका थिए । यो इभेन्टमा म्यानमारको जोडीले स्वर्ण जितेको थियो । निशाले ३० वर्षुमनिको व्यक्तिगत पुम्सेमा कांस्य जितिन् । यसमा आयोजक दक्षिण कोरियाले स्वर्ण र पाकिस्तानले रजत जितेको थियो । रमिला तामाङले रजत पदक जितिन् । उनले सिनियर महिला व्यक्तिगत पुम्सेमा उक्त पदक जितिन् ।

नेपालका ६ खेलाडीले भाग लिएकामा सबैले पदक जितेका छन् । च्याम्पियनसिपमा ३१ राष्ट्रका झन्डै ३ हजारभन्दा बढी खेलाडीले भाग लिएका थिए ।

उक्त च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री राजु क्षेत्रीले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनले युएस ओपनसहित दर्जनौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निभाइसकेका छन् । खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानका कारण सन् २०१३ मा कोरिया सरकारबाट मानार्थ नागरिकता पाएका क्षेत्री कोरियामै बस्दै आएका छन् ।

कान्तिपुर

Link copied successfully