प्रतियोगितामा गत वर्षको उपविजेता सलहेसबाहेक सबै नयाँ टिम मैदानमा उत्रँदै छन् । विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछन् ।
What you should know
ताप्लेजुङ — लाखेजात्राको अवसरमा ताप्लेजुङ गोल्डकप फुटबलको तेस्रो संस्करण सदरमुकाम फुङलिङको भानुजन माविको मैदानमा शनिबार सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजकको टिम तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ र सुनसरी इटहरीको द योङ ब्रदर्श क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
तेल्लोकले दुई विदेशी खेलाडी फोफोना र सामुइललाई खेलाउने छ । जीवन गुरुङ, सञ्जय श्रेष्ठ, रुपेश केसीलगायत ६ खेलाडी अनुबन्ध गरेको छ । उनीहरू विभिन्न क्लबबाट खेलिरहेका छन् । बाँकी खेलाडी जिल्लाका छन् ।
ब्रदर्श क्लबले थ्रीस्टारका प्रवेश बस्नेत, पुलिसका शिशिर चौधरी, इटहरीका रमेश राजवंशी, योगेन कार्की, सञ्जय धिमाल, युवराज थापा, निशान थापा मगरलगायत टिममा समावेश गरेको छ । फुङलिङदेखि झन्डै एक दिनको पैदलमा रहेको तेल्लोकले आयोजकको तर्फबाट खेल्दै पहिलो पटक फाइनल पुग्ने लक्ष्य लिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताए । ए डिभिजन खेलेका ६ र बाँकी ताप्लेजुङका खेलाडी समेटेर टिम तयार पारिएको उनले बताए ।
इटहरीका प्रशिक्षक समर्पण मगरले उद्घाटन खेल जित्ने र त्यसपछिको रणनीति बनाउने बताए । आइतबार सहारा क्लब पोखरा र रेडस्टार फुटबल क्लब झापाबीच हुनेछ । पोखराको टिम पनि शुक्रबार ताप्लेजुङ आइसकेको छ । तेस्रो खेलमा लिजेन्ड फुटबल एकेडेमी सिलगुढी र चर्च ब्वाइज क्लब काठमाडौं, त्यसपछि सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा गत वर्षको उपविजेता सलहेसबाहेक सबै नयाँ टिम मैदानमा उत्रँदै छन् । विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई यामाहाको मोटरसाइकल प्रदान गरिनेछ ।
विधागत विजेतालाई १५ हजारका दरले पुरस्कृत गरिने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताए । म्यान अफ द म्याचले ७ हजार प्राप्त गर्नेछन् । लाखेजात्राको अवसरमा प्रतियोगिता २०२९ सालदेखि हुँदै आएको छ । कञ्चनजंघा, पाथीभरालगायतका विभिन्न नामबाट प्रतियोगिता हुँदै आएको छ ।
