सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको विवादका कारण नेपाली खेलाडीको एसियाड सहभागिता हुने नहुनेमा आशंका बढेको जनाउँदै चिन्ता व्यक्त गरेको छ ।
काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागितामा अन्योल सिर्जना भएको जनाएको छ ।
सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीचको विवादका कारण नेपाली खेलाडीको एसियाड सहभागिता हुने नहुनेमा आशंका बढेको जनाउँदै चिन्ता व्यक्त गरेको छ ।
विवादका घटनाक्रमले मिसन २०२६ को विशेष प्रशिक्षण तथा अन्य नियमित प्रशिक्षण रहेका खेलाडीमा अन्योलता बढाएकाले यसतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण हुनुपर्ने संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।
खेलकुदमा देखिने पटक–पटकको विवादले सबैभन्दा बढी मार खेलाडीलाई पर्ने गरेको उनको जिकिर छ । सरकार र एनओसीको अहिलेको विवादले यथास्थितिमा रहने हो भने एसियाली खेलकुदमा नेपालको सहभागितासम्बन्धमा प्रश्न उठिरहेको बताउँदै अहिलेको यो अन्योलता चिर्न जरुरी छ नत्र यसले तयारीमा रहेका खेलाडीको मानसिकता असर पार्ने उनको ठम्याइ छ ।
उनले भनेका छन्, ‘वर्षौर्देखि तयारी गर्दै आएका खेलाडीले एसियाली खेलकुदमा भाग लिन नपाउने अवस्था सिर्जना भए त्यसको जिम्मेवारी कसले लिने ? एकअर्कालाई दोषारोपण गरेर उम्कने प्रवृत्ति नेपाली खेलकुदमा नौलो होइन । यसतर्फ हामी सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।’
विवादमा को सही को गलतभन्दा पनि एसियाली खेलकुदमा नेपाली खेलाडीको सहभागिता निश्चित गराउन सबै पक्षबाट पहल गर्न खेलाडी संघले आग्रह गरेको छ ।
गत साता खेलकुदमन्त्री तेजुलाल चौधरीले जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसी अवैध रहेकाले तदर्थ समिति गठन गर्ने तयारी भइरहेको बताएका थिए ।
