महिला भलिबल लिगको इन्टरटेन्मेन्ट पार्टनरमा टिकटक

यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय रहने आयोजकको विश्वास छ ।

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

Tiktok is the entertainment partner of the Women's Volleyball League

काठमाडौँ — वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को दोस्रो संस्करणका लागि टिकटक आधिकारिक इन्टरटेन्मेन्ट पार्टनरको रूपमा जोडिएको छ ।

आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै टिकटक लिगको आधिकारिक मनोरञ्जन पार्टनर बनेको जनाएको छ । दोस्रो एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।

यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय रहने आयोजकको विश्वास छ ।

‘विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य ईडब्लूभी लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीको सशक्तीकरण र सांस्कृतिक महत्वलाई अझ फैलाउने उद्देश्यका साथ भलिबल कोर्टमा प्रवेश गर्दै छ,’ विज्ञप्तिमा जनाइएको छ ।

टिकटक साउथ एसियाका कन्टेन्ट अप्रेसन प्रमुख उमैस नविदले वात्सल्य एभरेस्ट महिला भलिबल लिगसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साही रहेको बताए ।

यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन, महिला सशक्तीकरणमा टेवा दिन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने ऐतिहासिक अवसरको रूपमा हेरेको उनले जनाए ।

एभरेस्ट महिला भलिबल लिगकी सीईओ स्नेभी चापागाईंले एक गेम चेन्जर साझेदारी भएको बताइन् । दोस्रो संस्करणको लिगका लागि खेलाडीको अक्सन समेत भइसकेको छ । नेपाल भलिबल संघको  स्वीकृति लिग हुन लागेको हो ।

कान्तिपुर

Link copied successfully