मंगलबार बिहान क्लबको प्रशिक्षण मैदानमा पोर्चुगली राष्ट्रिय टिमका पूर्व डिफेन्डर कोस्टा ढलेका थिए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषणा गरियो ।
पोर्टो — एफसी पोर्टोका पूर्वकप्तान जोर्गे कोस्टाको मंगलबार ‘कार्डिक एरेस्ट’ का कारण निधन भएको छ । क्लबले उनी आफ्नो इतिहासको एक भाग रहेको बताएको छ । पोर्टोले भनेको छ, ‘क्लबका लिजेन्डरी कप्तान तथा अहिलेका व्यावसायिक निर्देशकको निधन भएको छ ।’
मंगलबार बिहान क्लबको प्रशिक्षण मैदानमा पोर्चुगली राष्ट्रिय टिमका पूर्व डिफेन्डर कोस्टा ढलेका थिए । उनलाई तुरुन्तै अस्पताल लगिएको थियो । त्यहाँ उनलाई मृत घोषणा गरियो । उनले आफ्नो खेलजीवनको अधिकांश भाग पोर्टोमै बिताएका थिए र त्यस क्रममा उनले ८ लिग उपाधि जिते ।
सन् २००४ मा जोसे मोउरिन्होको नेतृत्वमा पोर्टोले युरोपेली च्याम्पियन्स लिग जित्दा कोस्टाले कप्तानी गरेका थिए । उनले पोर्चुगलका लागि ५० ‘क्याप’ जिते । उनी लुइस फिगोसँगै सन् १९९१ को यू–२० विश्वकप विजेता पोर्चुगाली स्वर्णिम टिमका पनि सदस्य थिए ।
पोर्टोका पूर्वप्रशिक्षक मोउरिन्होले पनि कोस्टाको निधनमा दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘उनी मेरो इतिहासको एक भाग हुन् ।’ क्रिस्टियानो रोनाल्डोले पनि कोस्टासँग आफ्नो सम्झना सधैं कायम रहने प्रतिक्रिया दिएका छन् ।
