भीम र सुस्मिता आईटीएफ वर्ष खेलाडी

पुरुषमा भीम र महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्डसहित नगद पुरस्कार पाए ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Bheem and Sushmita ITF Player of the Year

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापा मगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड–२०८१ बाट सम्मान गरेको छ । पुरुषमा भीम र महिलामा सुस्मिताले वर्ष उत्कृष्ट खेलाडी अवार्डसहित नगद पुरस्कार पाए ।

भीमले २४ औं राष्ट्रिय आईटीएफ तेक्वान्दोमा ३ स्वर्ण पदक जितेका थिए । सोही प्रतियोगितामा सुस्मिताले २ स्वर्ण जितेकी थिइन् । महासंघले आफ्नो २८ औं वार्षिकोत्सवमा वर्ष खेलाडीसहित वर्ष उत्कृष्ट प्रशिक्षक, प्रदेश संघ र जिल्ला संघलाई पनि सम्मान गरेको हो । प्रशिक्षकमा आकाशचन्द्र घर्ती मगर, प्रदेश संघमा गण्डकी र जिल्ला संघमा गुल्मी उत्कृष्ट चुनिए ।

सोही अवसरमा अगस्ट १९ देखि २६ सम्म भारतमा भएको दसौं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका स्वर्ण विजेता किशोर श्रेष्ठ र राजमन्दिर श्रेष्ठ, रजत विजेता चन्द्रबहादुर तामाङलाई पनि सम्मानित गरियो ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य अञ्जन धमला, आईटीएफका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापालगायतले सम्मान प्रदान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully