एसियन पावर लिफ्टिङ च्याम्पियनसिप साउनमै

यही साउन ३० देखि भदौ १ सम्म तीन दिन हुने प्रतियोगिता भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा गरिने आयोजकले जनाएको छ ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Asian Powerlifting Championship in July

What you should know

काठमाडौँ — नेपाल युथ फिटनेस एन्ड केलिसथेनिक्सले नेपालमा पहिलो पटक एसियन पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

यही साउन ३० देखि भदौ १ सम्म तीन दिन हुने प्रतियोगिता भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा गरिने आयोजकले बुधबार पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

प्रतियोगितामा ओपन पावरलिफ्टिङ, डेड लिफ्टिङ, बेन्च प्रेस, बेन्च प्रेस एन्ड डेड लिफ्ट गरी चार विधामा प्रतिस्पर्धा हुनेछ । तौल समूहतर्फ पुरुष र महिलामा ८–८ समूह तथा उमेर समूहतर्फ महिला र पुरुषमा ६–६ समूह छुट्याइने छ ।

प्रतियोगितामा नेपालसहित भारत, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, उज्वेकिस्तानलगायत अन्य एसियाली देशका १ सय २० बढी खेलाडीले भाग लिने आयोजकका अध्यक्ष सुकदेव कार्कीले जानकारी गराए ।

हिमालय क्विस्टा प्रोको मुख्य प्रायोजन, सूर्य प्लाईको सहप्रायोजन र वर्ल्ड पावर लिफ्टिङको साझेदारीमा हुने प्रतियोगिताका प्रत्येक तौल र उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी र आकर्षक उपहार प्रदान गरिनेछ । लक्की ‘ड्र’मार्फत ५ खेलाडीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० लाख रुपैयाँबराबरको एक वर्षको इन्स्योरेन्स प्रदान गरिनेछ ।

उमेर समूहमा ४० देखि ८४ वर्षका व्यक्ति पनि सहभागी हुनेछन् । यू–१८ (जुनियर) र यू–२३ (युथ) को पनि स्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका १७ महिलासहित ४९ खेलाडीले भाग लिने पक्का भएको छ ।

प्रतियोगिताका लागि करिब ८६ लाख रुपैयाँको बजेट रहेको जनाइएको छ । पावरलिफ्टिङ खेलको उत्थान र नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिन र प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको अध्यक्ष कार्कीले बताए ।  

कान्तिपुर

Link copied successfully