संघले बुधबार आफ्नो छैटौं वार्षिक साधारणसभाका क्रममा उनीहरूलाई सम्मान गरेको हो ।
काठमाडौँ — काठमाडौं जिल्ला क्रिकेट संघले नेपाली यू–१६ राष्ट्रिय टोलीका सदस्य प्रसिद्ध जैसीसहित ५ क्रिकेटकर्मीलाई सम्मानित गरेको छ ।
संघले बुधबार आफ्नो छैटौं वार्षिक साधारणसभाका क्रममा उनीहरूलाई सम्मान गरेको हो । काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले प्रतियोगिताका ६ खेलमा एक शतक र एक अर्धशतकसहित २४६ रन जोडेका थिए ।
महिला क्रिकेट टोलीकी खेलाडी कृष्मा गुरुङ, आईसीसीका अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो । प्रसिद्ध र कृष्माले दुवैले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
उनीहरूलाई बागमती प्रदेशका सभाका सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले सम्मान गरे ।
अध्यक्ष घलेले यस वर्ष आधा दर्जन कार्यक्रम गराउन सफल भएको बताए । संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, यू–१९ पुरुष छनोट, दोस्रो जयकुमार नाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट (एसिसी यू–१६ इस्ट जोन कप छनोट), आईसीसी यू–१९ महिला विश्वकप र एसिया कप छनोट तथा ‘ओ’ लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना गरेको थियो ।
