वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा टुंगियो नेपालको यात्रा

१४ वर्षीया आर्याले खेलेको महिला ५० मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान गौरिका सिंहको नाममा २७.९५ सेकेन्डको छ ।

श्रावण १८, २०८२

कान्तिपुर संवाददाता

Nepal's trip to the World Aquatics Championship ended

What you should know

काठमाडौँ — आर्या महर्जनले वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा शनिबार ५० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेसँगै नेपालको यात्रा टुंगिएको छ ।

सिंगापुरमा भएको च्याम्पियनसिपमा आर्याले ३०.०७ सेकेन्डमा दुरी पार गरिन् । उनी समग्र हिटको ८४ औं स्थानमा रहिन् । १०५ प्रतिस्पर्धीमा सय जनाले दुरी पार गरेका थिए । 

१४ वर्षीया आर्याले खेलेको महिला ५० मिटर फ्रिस्टाइलको राष्ट्रिय कीर्तिमान गौरिका सिंहको नाममा २७.९५ सेकेन्डको छ । आर्याले वर्ल्ड एक्वाटिक्समा १०० मिटर फ्रिस्टाइलमा पनि प्रतिस्पर्धा गरिन् । त्यसमा १ मिनेट ०५.४३ सेकेन्डको टाइमिङ निकालेकी थिइन् । त्यसमा उनी ७५ औं स्थानमा रहिन् ।

पुरुष ५० मिटर फ्रिस्टाइलमा अजलकाजी ताम्राकारले २५.१६ सेकेन्डको टाइमिङ निकालेका थिए । १ सय १६ प्रतिस्पर्धीले दुरी पार गर्दा अजलकाजी ८७ औं स्थानमा रहेका थिए । यसै च्याम्पियनसिपको ५० मिटर बटरफ्लाईमा भने उनले राष्ट्रिय कीर्तिमान बनाएका थिए । २६.४९ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले आफ्नै नामको कीर्तिमान सुधारेका हुन् । अजलकाजीले इजरायलमा सन् २०२३ मा भएको वर्ल्ड एक्वाटिक जुनियर च्याम्पियनसिपमा २७.०५ सेकेन्डको प्रदर्शन गरेका थिए । सिंगापुरमा बटरफ्लाईमा १०० प्रतिस्पर्धीबीच उनी ७७ औं स्थान रहे ।

च्याम्पियनसिपमा भाग लिएका चार खेलाडीमा ओलम्पियन डुवाना लामा र इर्भिन श्रेष्ठ पनि रहेका थिए । डुवानाले २०० मिटर फ्रिस्टाइलमा २ मिनेट १२.४० सेकेन्डको प्रदर्शन गरन् । उनी ४४ औं स्थान हासिल गरिन् । ४७ प्रतिस्पर्धीले हिट चरणमा दुरी पार गरेका थिए । यस इभेन्टको राष्ट्रिय कीर्तिमान गौरिका सिंहको नाममा २ मिनेट ११.९४ सेकेन्डको छ । गौरिकाले सन् २०१७ मा उक्त कीर्तिमान स्थापित गरेकी थिइन् । 

डुवानाले १०० मिटर ब्रेस्टस्ट्रोकमा १ मिनेट १७.७१ सेकेन्डको टाइमिङ बनाएर ५५ औं स्थानमा रहिन् । उनीभन्दा पछाडि दुई खेलाडी थिए । यस विधामा १ मिनेट १७.१४ सेकेन्डको कीर्तिमान डुवानाकै नाममा छ । गत वर्षको अप्रिलमा मलेसियामा सम्पन्न एज ग्रुप च्याम्पियनसिपमा उक्त कीर्तिमान बनाएकी थिइन् । 

इर्भिनले पुरुष १०० र २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका थिए । दुवै इभेन्टमा इर्भिनले इजरायलमा सम्पन्न वर्ल्ड एक्वाटिक्स जुयिनर च्याम्पियनसिपको प्रदर्शनभन्दा सुधार गरेका छन् । १०० मिटरमा ५४.४३ सेकेन्डमा दुरी पार गरे । ११० प्रतिस्पर्धीमा उनी ८५ औं स्थानमा रहेका थिए । यस इभेन्टमा ५१.९१ सेकेन्डको राष्ट्रिय कीर्तिमान एलेक्स शाहको नाममा छ । एलेक्सले उक्त कीर्तिमान गत वर्ष पेरिस ओलम्पिकमा बनाएका थिए । 

२०० मिटर फ्रिस्टाइलमा इर्भिन ५७ औं स्थान रहे । ६० प्रतिस्पर्धीले हिट चरणमा दुरी पार गर्दा उनले २ मिनेट ०२.८३ सेकेन्डको टाइमिङ निकालेका थिए । राष्ट्रिय कीर्तिमान १ मिनेट ५६.३९ सेकेन्डको नासिर हुसेनको नाममा छ । उनले २०२४ को फ्रेबुअरीमा भएको दोहा वर्ल्ड च्याम्पियनसिपमा बनाएका थिए । नेपाली टोलीको प्रशिक्षकमा शंकर कार्की र व्यवस्थापकमा विकास शर्मा रहेका छन् । प्रतियोगितामा जानुअघि प्रशिक्षक कार्कीले यो सहभागिताले २० औं एसियाली खेलकुदको तयारी सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully