लिभरपुलको प्रस्ताव न्युकासलद्वारा अस्वीकार

न्युकासललाई आफूले सेन्ट जेम्स पार्क छाड्न लागेको बताएर इसाकले यसै सातादेखि आफ्नो पूर्वक्लब रियल सोसिडाडमा एक्लै प्रशिक्षण गर्दै आएका छन् ।

श्रावण १७, २०८२

कान्तिपुर संवाददाता

Liverpool offer rejected by Newcastle

What you should know

लन्डन (एएफपी) — लिभरपुलले स्विडेनका स्ट्राइकर एलेक्जान्डर इसाकलाई भित्र्याउन राखेको सुरुआती प्रस्ताव न्युकासलले अस्वीकार गरिदिएको छ । सरुवा प्रकरण आएदेखि इसाकको भविष्य अन्योल बनिरहेको छ । 

न्युकासललाई आफूले सेन्ट जेम्स पार्क छाड्न लागेको बताएर इसाकले यसै सातादेखि आफ्नो पूर्वक्लब रियल सोसिडाडमा एक्लै प्रशिक्षण गर्दै आएका छन् । गत सिजनको समाप्तिदेखि नै २५ वर्षे इसाकको नाम प्रिमियर लिग च्याम्पियन लिभरपुलसँग जोडिँदै आएको छ ।

लिभरपुलले शुक्रबार राखेको ११ करोड पाउन्ड प्रस्ताव न्युकासलले नस्वीकारेपछि इसाकको भविष्य झनै अन्योलग्रस्त बनेको हो । न्युकासलले इसाकको मूल्य १५ करोड पाउन्ड रहेको र त्योभन्दा कम मूल्यमा नबेच्ने जनाउँदै आएको छ । लिभरपुलले अब रकम थप गरेर इसाकमाथि दोस्रो प्रस्ताव राख्ने विश्वास गरिएको थियो । तर लिभरपुलले दोस्रो प्रस्तावलाई प्रयास नगर्ने जनाएको छ । 

इसाक सन् २०२२ मा रियल सोसिडाडबाट ६ करोड पाउन्डमा न्युकासल आएका थिए । गत सिजन उनले प्रिमियर लिगमा २३ गोल गरेपछि न्युकासल च्याम्पियन्स लिगमा छनोट भएको थियो । न्युकासलसँग उनको सम्झौता अझै ३ वर्ष छ । तर न्युकासलको प्रि–सिजनको एसिया भ्रमणमा उनी समावेश भएनन् । क्लबले उनको तिघ्रामा सामान्य चोट लागेको जनाए पनि सरुवा विषय निश्चित नहुँदा इसाक टोलीमा जोडिएनन् । 

रियल सोसिडाडले बिहीबार इसाक आफ्ना ट्रेनरहरूका साथ क्लबमा प्रशिक्षण गरिरहेको जनाएको थियो । शुक्रबार जनाएअनुसार न्युक्यासलले इसाकलाई अर्को वर्षदेखि लागू हुने गरी नयाँ सम्झौताका लागि आग्रह गरेको थियो, तर उनले आफू तत्काल न्युकासलबाट अलग हुन चाहेको जवाफ फर्काएका थिए । 

लिभरपुलका व्यवस्थापक आर्ने स्लटले इन्ट्राक्ट फ्रान्कफर्टका स्ट्राइकर हुगो इकिटिके र बायर लेभरकुजनका प्लेमेकर फ्लोरियन विर्टजलाई हालै अनुबन्धन गरेर टोलीको आक्रामण बलियो बनाउने प्रयास गरेका थिए । फरवार्ड पोजिसनलाई अझ बलियो बनाउन स्लट स्थापित हुन नसकिरहेका इसाकलाई भित्र्याउन प्रयासरत छन् । इसाकलाई भित्र्याएपछि लिभरपुल १९८० को दशकयता पहिलो पटक लगातार इंग्लिस लिग उपाधि जित्ने आसमा छ । 

इसाकको विषयमा कडा रूपमा प्रस्तुत हुँदै न्युकासलका व्यवस्थापक इडी होवले यसै साता भनेका थिए, ‘उनी अझै हाम्रा खेलाडी हुन्, हामीसँग सम्झौता बाँकी छ । अब के हुन्छ भनेर केही हदसम्म उनलाई नियन्त्रण गर्ने प्रयास गर्छौं । सबै सम्भावना अझै हामीसँग छभन्दा मलाई रमाइलो लाग्छ । उनी न्युकासलमै रहोस् भन्ने मेरो कामना छ, तर त्यो सवै मेरो नियन्त्रणमा हुँदैन ।’

लिभरपुलले यस सिजनमा नयाँ खेलाडी भित्र्याउन २५ करोड पाउन्ड खर्च गरिसकेको छ । विर्टज र इकिटिकेसहित मिलोस केर्केज, जेरेमी फ्रिमपोङ र जिओर्जी मामार्दासभिली एनफिल्ड आइसकेका छन् । लिभरपुलले लुइस डियाज, जारेल क्वानसाह, काओमहिन केलेहर र ट्रेन्ट एलेजान्डर–आर्नोल्डलाई बेचेर झन्डै ११ करोड ५० लाख पाउन्ड रकम जम्मा गरिसकेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully