भदौ २९ गते हुने अवार्डका लागि बुधबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरबीच सम्झौता भएको हो ।
What you should know
पोखरा — २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजनाका लागि पोखरा महानगरपालिका प्रवर्द्धकको रूपमा रहने भएको छ ।
भदौ २९ गते हुने अवार्डका लागि बुधबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरबीच सम्झौता भयो । प्रवर्द्धनका लागि सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महानगर प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन् । राजधानी काठमाडौंमा आयोजना हुँदै नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड पोखरामा पहिलो पटक गरिन लागेको मञ्चले जनाएको छ ।
पोखरा भ्रमण वर्ष २०२५ को अवसरमा पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डलाई महानगरपालिकाले आर्थिक र नैतिक सहयोग गर्ने आचार्यले बताए । उनले पोखरा देशका ठूला अन्तर्राष्ट्रिय कार्यक्रमलाई योग्य सहर बनिरहेको परिवेशमा खेलकुदको प्रतिष्ठित अवार्ड आयोजना हुँदा पोखराको गरिमा र खेलकुदको दायरा थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको राजधानी बनाउने अभियानमा आफूहरू लागिपरेको बताए ।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौंबाहिर स्पोर्ट्स अवार्ड समारोह गर्न निकै चुनौतीपूर्ण रहेको बताउँदै पोखरा महानगरको साथले चुनौती स्वीकार्न तयार भएको बताए । अवार्डलाई प्रवर्द्धकको रूपमा साथ दिएकोमा मेयर आचार्य, महानगरपालिका परिवार र पोखरावासीप्रति धन्यवाद ज्ञापन गरे ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विश्वका खेल पत्रकारहरूको संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआईपिएस) र एसियाली खेलकुद पत्रकार महासंघ (एआईपिएस एसिया) को नियमित क्यालेन्डरमा समावेश इभेन्ट पनि हो ।
एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको स्पोर्ट्स अवार्ड पोखरामा हुनुलाई आफूहरूले उत्साहका साथ लिएको बताए ।
मञ्चका महासचिव अञ्जन खड्काले पोखरा पर्यटन, खेलकुद र इभेन्टको मात्र नभई खेल पत्रकारिताको दृष्टिले पनि देशको एउटा महत्त्वपूर्ण र सशक्त सहर भएको बताए । उनले अवार्ड सफल पार्नका लागि सम्पूर्ण पोखरेली पत्रकारलाई सहयोगको आह्वान गरे ।
